‘मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व र आर्थिक विकासमा केन्द्रित रहने’
काठमाडाैं, २२ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमा उनले राष्ट्र बैंक मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताएका हुन् ।
राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने बताउँदै उनले गभर्नर अधिकारीले मौद्रिक नीतिबारे दिइएका सुझावले राष्ट्र बैंकलाई प्रशस्त मात्रामा पृष्ठपोषण भइरहेको बताए ।
यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । चालु पुँजीको जिम्मा स्वयम् बैंकलाई दिनुपर्ने भन्दै उनले फिक्स डिपोजिट र सेभिङको ब्याजदरको अन्तर ५ प्रतिशत भएकाले त्यसलाई पनि घटाउनुपर्ने पनि बताए ।
यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्रप्रसाद मल्लले बेस रेटमा लिने प्रिमियम पक्षपातपूर्ण रहेको भन्दै अधिकतम दुई प्रतिशत भन्दा ननाघिकन प्रिमियम लिने व्यवस्था गर्न माग गरेका छन् ।
यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउनका लागि राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने बताएका छन् ।
उनले मुल्यवृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक रहेको र अर्काेतर्फ समग्र माग वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीतिको खाँचो रहेकोसमेत बताए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत परम्परागत बैंकिङ प्रणालीमा संरचनागत सुधार गर्दै विशिष्टिकृत तथा प्रतिस्पर्धात्मक बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको समेत अग्रवालले बताए ।