बीएन घर्तीको ‘बैंकिङ अनुशासन’ : दिगो बैंकिङमा सघाउने पुस्तक

काठमाडौं, ८ साउन । बैंकिङ क्षेत्रका समसामयिक विषयको अध्ययन, अनुसन्धान तथा विश्लेषणका साथै लेखन कार्यमा समेत सक्रिय बैंकिङ विज्ञ बीएन घर्तीले ‘बैंकिङ अनुशासन, दिगो विकासका लागि’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपालको बैंकिङ क्षेत्रमा करीब तीन दशक बिताएका घर्तीले आफूले हासिल गरेका अनुभव, अध्ययन अनुसन्धानात्मक लेखरचना पुस्तकमा समेटेका छन् । बैंकिङ क्षेत्रका विविध विषयलाई विश्लेषण गर्दै नीतिगत मार्गदर्शन गर्ने, सचेतना जगाउने र जीवन उपयोगी हुनेगरी उक्त पुस्तक आएको छ ।
पुस्तकमा बैंक तथा वित्तीय संस्था किन अनुशासनमा बस्नुपर्छ, किन अल्पदृष्टिबाट होइन दूरदृष्टिबाट अभिप्रेरित हुनु पर्छ, किन ग्राहक केन्द्रित हुनु पर्छ, उपयुक्त निक्षेपको मिश्रण किन हुनुपर्छ जस्ता विषय स्पष्टसँग उठाइएको छ । कर्मचारीलाई अनावश्यक बिक्री लक्ष्य दिँदाका बेफाइदा, पारिश्रमिक दिने गरी व्यावसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण, बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुदाँको प्रभाव, फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विकृति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्थालगायत विषयलाई पुस्तकले समेटेको छ ।
विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यावसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेसाकर्मी र बैंक नियामकका लागि पनि यो कृति उत्कृष्ट तालिम तथा सन्दर्भ–पुस्तक हुने देखिएको छ ।
पुस्तकले बैंकसम्बन्धी नीतिगत मार्गदर्शन, बैंकिङ साक्षरता र सचेतनाका साथै बैंक तथा वित्तीय क्षेत्रका बारेमा जीवन उपयोगी आवश्यक सूचनालाई समेटिएको छ । बैंकिङ क्षेत्रमा लामो समय काम गरेका यस विषयका जानकार बीएन घर्तीको यो पुस्तक बैंकिङ क्षेत्रमा रुचि राख्ने सबैका लागि उपयोगी हुन सक्छ । त्यसैगरी फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विकृति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्थालगायतका सामग्रीहरु यसमा संलग्न छन् ।
बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्सका विषयमा अध्ययन, अनुसन्धान र प्रशिक्षणको काम गर्दै आएका बैंक विज्ञ घर्तीको आफ्नै संस्था बैंकिङ एन्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि (बीआईएम)ले पुस्तक प्रकाशन गरेको हो । सो पुस्तक चार सय ४४ पृष्ठको छ ।