Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

प्रभु इन्स्योरेन्सलाई त्रिपल बी प्लस रेटिङ: पूँजी संरचना, जोखिम व्यवस्थापन र लगानी रणनीति सुदृढ

प्रभु इन्स्योरेन्सलाई त्रिपल बी प्लस रेटिङ: पूँजी संरचना, जोखिम व्यवस्थापन र लगानी रणनीति सुदृढ

काठमाडौं, २० साउन  । प्रभु इन्स्योरेन्स लिमिटेडको मूल्याङ्कन पुनः पुष्टि गरिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जारी गरेको प्रतिवेदनअनुसार कम्पनीको मूल्याङ्कन पुनः त्रिपल बी प्लस (जारीकर्ता) मा कायम गरिएको हो ।

कम्पनी सन् १९९५ देखि निरन्तर रूपमा बीमा व्यवसायमा सक्रिय रहँदै आएको छ । प्रभु इन्स्योरेन्सको प्रमुख लगानीकर्ता सरकारी स्वामित्वमा रहेको कर्मचारी सञ्चय कोष र ‘क’ श्रेणीको वाणिज्य बैंक प्रभु बैंक लिमिटेड रहेका कारण यसको प्रवद्र्धक समूह अत्यन्त सशक्त मानिन्छ ।

पछिल्ला वर्षहरूमा कम्पनीले लगानी विविधिकरणलाई प्राथमिकता दिँदै आएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म लगानीमा करिब १९ प्रतिशतको वार्षिक वृद्धिदर कायम रह्यो । यद्यपि २०८०/८१ मा केही सावधिक निक्षेप परिपक्व भएपछि र पुनर्बीमा आयोग प्राप्त भएपछि कम्पनीले छोटो अवधिको निक्षेपतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ । यद्यपि २०८१/८२ मा पुनः विभिन्न प्रकारका लगानी साधनमा विविधिकरण गरिएको छ ।

इन्स्योरेन्सले नियामक निकायले निर्धारण गरेको न्यूनतम सॉल्भेन्सी अनुपात १.३० गुणालाई धेरै माथि पार गर्दै आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा ४.६७ गुणा कायम गरेको छ । यसले कम्पनीको पूँजी संरचना बलियो रहेको संकेत दिन्छ । दाबी व्यवस्थापन पक्षमा पनि कम्पनी सन्तोषजनक देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दाबी अनुपात ३८ प्रतिशतमा सीमित रहँदा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा यो घटेर ३४ प्रतिशतमा झरेको छ ।

प्रभु इन्स्योरेन्सको करपछि नाफा तथा बीमा व्यवसायबाट भएको सरप्लस (अन्डरराइटिङ मुनाफा) पनि स्थिर रूपमा वृद्धि हुँदै गएको देखिन्छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको अन्डरराइटिङ मुनाफा १७९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा १११ करोड रुपैयाँ मात्र थियो । यस्तै, कम्बाइन्ड अनुपात पनि २०८०//८१ मा ८१ प्रतिशत थियो भने चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घटेर ६३ प्रतिशतमा झरेको छ, जसले सञ्चालन स्थायित्वको संकेत गरेको छ ।

विपरीत परिस्थितिहरू, जस्तै प्राकृतिक विपद् तथा बाढीका घटनाहरूबीच पनि कम्पनीले जोखिम छान्ने कार्यमा सतर्कता अपनाएको देखिन्छ । यसले गर्दा सञ्चालन लागत तथा दाबी व्यवस्थापनमा सन्तुलन कायम गर्न सफल भएको विश्लेषण गरिएको छ । बीमा व्यवसायमा तीव्र प्रतिस्पर्धा, बीमा समितिबाट लागु हुने नयाँ नियम तथा कानुनी अनिश्चितता केही चुनौतीको रूपमा देखिए पनि प्रभु इन्स्योरेन्सले यस्ता अवस्थालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गरिरहेको छ । विगत एक वर्षमा बीमा शुल्क आम्दानी तथा बीमा आम्दानीको वृद्धिदर क्रमशः ९ प्रतिशत र ०.४४ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत १४ प्रतिशतको तुलनामा केही कम भए पनि कम्पनीको सन्तुलित सञ्चालन नीतिले दीर्घकालीन स्थायित्व सुनिश्चित गरेको देखिन्छ ।

आगामी दिनहरूमा कम्पनीले आफ्नो व्यवसायलाई वित्तीय सूचकांकहरू कायम राख्दै अझै मजबुत रूपमा विस्तार गर्न सक्ने क्षमतामाथि मूल्याङ्कन निकायको निगरानी रहनेछ ।

कम्पनीले हालसम्म ६५ प्रकारका बीमा नीति जारी गरेको छ । बीमा शुल्क आम्दानी (ग्रस प्रिमियम) मा मोटर बीमा क्षेत्रको हिस्सा सबैभन्दा बढी ३८ प्रतिशत रहेको छ । सोही क्षेत्रको रिटेन्सन दर उच्च भएको कारणले नेट बीमा आम्दानीमा यो क्षेत्रको योगदान आधाभन्दा बढी रहेको छ । हवाई उडान क्षेत्रबाट ग्रस प्रिमियममा २२ प्रतिशत हिस्सा भए तापनि रिटेन्सन दर २ प्रतिशत मात्र भएकाले नेट आम्दानीमा यसको योगदान १ प्रतिशतमा सीमित छ ।

प्रभु इन्स्योरेन्सको दीर्घकालीन अनुभव, सशक्त प्रवद्र्धक समूह, अनुभवी व्यवस्थापन, विवेकपूर्ण जोखिम छनोट रणनीति, लगानी विविधीकरण, कम दाबी अनुपात र बलियो पूँजी संरचनाले कम्पनीलाई भविष्यमा अझै सुदृढ बनाउन मद्दत गर्ने प्रष्ट देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *