साउन २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै मनकामना इन्जिनियरिङ्ग
काठमाडौं, साउन १९ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको थियो । २ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूूल्यका २ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो । त्यसैगरी, कम्पनीले ४० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र १ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिसकेको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा साउन ३१ गते हुनेछ भने ढिलोमा भदौ १० गते हुने कम्पनीले जानकरी दिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको ‘मेरो शेयर’ वेबसाइटबाट पनि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा ऋणत्मक रहेको छ । त्यस्तै वास्तिविक प्रतिशेयर नेटटवर्थ २०७८/७९ सम्म ७४ रुपैयाँ रहेको छ । यसैका आधारमा नेप्सेले पहिलो कारोबार रेन्च तोक्ने गरेको छ । कम्पनी उक्त अवधिसम्म १३ करोड ४१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।



