Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बुक बिल्डिङ प्रक्रिया कहाँ पुग्यो ? बिक्री प्रबन्धक भन्छ : हामीले सबै प्रक्रिया पुरा गरेका छौं

बुक बिल्डिङ प्रक्रिया कहाँ पुग्यो ? बिक्री प्रबन्धक भन्छ : हामीले सबै प्रक्रिया पुरा गरेका छौं

काठमाडौं, २५ साउन । नेपालमै नयाँ अभ्यासका रूपमा सुरु गर्न लागिएको बुक बिल्डिङ विधिको बारे पछिल्लो सयम चर्चा चल्न छोडेको छ । केही वर्षअघि यो विधिले बजार तताएको थियो । तर, नेपाल धितोपत्र बोर्डमा सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न आवेदन दिए पनि एक वर्षदेखि फाइल अगाडि बढेको छैन ।

पछिल्लो सयम भने बोर्डले यसलाई चासो दिएको बताएको छ । बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेका कम्पनीको नयाँ मूल्य र नयाँ योग्य संस्थागत लगानीकर्ता (क्यूआईआई)बाट प्राप्त आवेदन दुवैलाई स्वीकृति दिएको छ।

प्रक्रिया टुंग्याएर सकेसम्म यही महिना बोलकबोल गराउने बोर्डको तयारी छ । दुई कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न दिने कार्य अन्तिम चरणमा पुगेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार बोर्डले नयाँ क्यूआईआईको प्रतिबद्धता र मूल्यलाई बारम्बार पुनरावलोकन गरेर अनुमति दिएको छ। अब कार्यान्वयन हुने चरणमा पुगेको उनी बताउँछन् ।

यी दुुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटड रहेको छ । बिक्री प्रबन्धकले भने आफ्नो तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पुरा गरको जानकारी दिएको छ । तर, बोर्डबाट नै केही जानकारी नआएको बिक्री प्रबन्धकको भनाइ छ । यदी केही कागजात आवश्यक परे त्यसको तयारीमा आफूहरु रहेको पनि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको प्रक्रिया विवादित भएको भन्दै केही समय अगाडि बोर्डले सरोकारवालासँग छलफल गरेको थियो । छलफलकै क्रममा कम्पनीहरुको मूल्य पुनरावलोकन गर्ने र क्यूआईआईको प्रतिबद्धता पुनः पुष्टि गर्न बोर्डले निर्देशन दिएको थियो ।

रिलायन्स स्पिनिङ मिल्सको पहिलो बोलकबोलमा आशय दिएका २८ मध्ये ४ जना पछि हटेका थिए । ५५ प्रतिशत प्रतिबद्धता तिनै चार जनाको थियो । २० प्रतिशत नेपाल टेलिकम एक्लैले किन्ने आशय दिएको थियो।

मूल्य पुनरावलोकन गर्दा रिलायन्स स्पिनिङ मिल्सको मूल्यांकन बढेर आयो । सर्वोत्तम सिमेन्टको मूल्यांकन भने घटेर आयो । नयाँ मूल्यांकनपछि रिलायन्स स्पिनिङ मिल्सको प्रतिकित्ता ८७३ र सर्वोत्तम सिमेन्टको ४०१ रुपैयाँ कायम भएको छ। अघिल्लो पटकको प्रतिवेदनमा सर्वोत्तम सिमेन्टको ६२७ रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ७२९ रुपैयाँ ९८ पैसा थियो।

सर्वाेत्तमले क्यूआईआई प्राप्त संस्थाहरूलाई कुल निष्कासन हुन लागेको ४० प्रतिशत अर्थात २४ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्स सात लाख ७० हजार ६४० कित्ता शेयर क्यूआईआई प्राप्त संस्थालाई बिक्री गर्न लागेको हो । यी कम्पनीलाई बोर्डले आईपीओ निष्कास गर्न स्वीकृति दिएसँगै पहिलो चरणमा क्यूआईआई प्राप्त संस्थालाई बोलकबोलमार्फत बिक्री गर्ने छन् र त्यसपछि पुनः बोर्डले सर्वसाधारणका लागि बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिनेछ । यस्तो आईपीओ खरिदका लागि लगानीकर्ताले न्यनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x