Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

कैलालीकाे भजनिमा ६ हजार हेक्टरकाे धानबाली बाढीले बगायाे, मारमा किसान

कैलालीकाे भजनिमा ६ हजार हेक्टरकाे धानबाली बाढीले बगायाे, मारमा किसान

काठमाडाैं, २७ साउन । गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ । बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्‍यो’, उनले भने । बाढीले उनकाे मात्रै होइन, भजनी वडा नं ३ र ८ का अधिकांश किसानको धानबालीमा नोक्सान गरेको छ ।

भजनी नगरपालिकाले पालिकामा ६ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख सुशोभन अधिकारीले बताए ।

उनले भने, ‘नगरको वडा नं ३, ५, ६, ७ र ८ मा गरी छ हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको छ, धानबाली बाढीमा डुबेको छ, कतिपयको बालीमा बालुवा, माटो थुपारिएको छ ।’

भजनी नगरपालिकाका यी वडामा १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । बर्सेनि बाढीको डुबान हुने क्षेत्र भएकाले नगरमा बाढीग्रस्त क्षेत्रमा वसन्त ऋतुमा चैते धान खेती हुने गरेको छ । बाढीले बर्खे धानबाली मात्र नभई चैते धान बालीलाई समेत असर गरेको उनकाे भनाइ छ । ‘कतिपयले बाली काटिरहेका थिए, चैते धान खेती गरेर घर भित्र्याएको अन्न पनि बाढीले नष्ट गरेको छ’, उनले भने ।

बाढी अहिले पनि नघटेको भन्दै पानीको सहत घटे क्षति भएका बालीको अनुगमन गरी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने शाखा प्रमुख अधिकारीको भनाइ छ । भजनी नगरपालिकामा मोहना, कान्द्रा, काँढा र परथैया नदीको पानीले डुबान हुने गरेको छ ।

डुबान हुँदा धानबाली पूर्णरूपमा नष्ट हुने अवस्थामा पुगेकाले धेरै किसान मारमा पर्ने गरेका स्थानीय जयबहादुर बुढाले बताए । ‘हरेक वर्ष यहाँका किसानले बाली गुमाउनुपरेको छ, दीर्घकालीन समस्या समाधान नभए यहाँ खेती नै नगर्ने बढ्ने छन् । लाखाैं खर्चिएर खेती गरेकाहरू बाढीका कारण रुनु परिरहेको छ’, उनले भने ।

यता टीकापुर नगरपालिकाको वडा नं ६ मा समेत धानबालीमा बाढीले क्षति पुर्‍याएको छ । बाढीले धानबालीका पुगाएको क्षतिको विवरण लिने काम भइरहेको पालिकाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x