Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

अध्ययनको सुझावका आधारमा लघुवित्तसम्बन्धी नीतिगत व्यवस्था गरिने

अध्ययनको सुझावका आधारमा लघुवित्तसम्बन्धी नीतिगत व्यवस्था गरिने

काठमाडौं, ३१ साउन । पछिल्लो समय नेपालको लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानमा राष्ट्र बैंकका प्रतिनिधि र विज्ञहरूको अध्ययन समितिले दिएका सुझावका आधारमा अघि बढ्ने केन्द्रीय बैंकले बताएको छ । समितिले दिएको प्रारम्भिक प्रतिवेदन उपर सम्बद्ध लघुवित्त संस्थाका कार्यकारी प्रमुखहरूसँग छलफल गरिएको र यसको अन्तिम प्रतिवेदनका आधारमा लघुवित्त सम्बन्धी नीतिगत व्यवस्था गरिने राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले बताएकी हुन् । आईबिएन मिडिया एन्ड रिसर्चद्वारा बुधवार काठमाडौंमा आयोजित ‘लघुवित्त क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले लघुवित्त क्षेत्रमा अहिले उत्पन्न समस्याबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

‘ग्रामीण तथा सामाजिक बैंकिङको अवधारणाले सञ्चालित यस्ता संस्थालाई विगतमा सफ्ट कर्नरमा राखेर नियमन गरिएकाले समस्या नियन्त्रणबाहिर जाने अवस्था आयो,’ उनले भनिन्, ‘राष्ट्र बैंक नियामक हो, तर स्वयं संस्थाहरू पनि स्वनियमनमा बसिदिए समस्या आउन पाउँदैन ।’ राष्ट्र बैंकले लघुवित्तका लागि ल्याउने नीति, नियम तथा निर्देशनहरू यस्ता संस्थालाई अप्ठ्यारोमा पार्न नभई समग्र लघुवित्त क्षेत्रकै सुधार, सदुढीकरण र संस्थागत सुशासनका लागि भएको समेत उनले बताइन् ।

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त सुपरिवेक्षण विभागका प्रमुख रेवती नेपालले विगतमा धेरै लघुवित्त संस्था सञ्चालनको लाइसेन्स दिनु तत्कालीन आवश्यकता भएको बताए । ‘वित्तीय साक्षरता कम भएको, ग्रामीण तहसम्म कर्जाको पहुँच नपुगेको अवस्थामा त्यो उद्देश्य प्राप्त गर्न धेरै संस्थालाई सञ्चालन अनुमति दिनु राष्ट्र बैंकको कर्तव्य पनि थियो,’ उनले भने, ‘तर अहिले समस्या देखिइसकेपछि यसको नियमनमा विशेष जोड दिनुपरेको हो ।’

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लघुवित्त विज्ञ डा. भरतसिंह थापाले यस्ता संस्थामा पछिल्ला वर्षमा लघुवित्तका कर्जाको गुणस्तर खस्किएको बताए । ‘लक्षित वर्गमा प्रवाह भएको कर्जाको उत्पादकत्व घटेको छ, अनुत्पादक क्षेत्रमा खर्च हुँदा ऋण तिर्न नसक्ने स्थितिमा ऋणीहरू पुगेका छन्,’ उनले भने, ‘एकातिर ऋणीहरू समस्यामा छन् भने अर्कातिर स्वयं लघुवित्त संस्थामा समेत पारदर्शिताको अभाव छ ।’ पछिल्लो समय लघुवित्तका समस्या राजनीतिकरण हुने थाल्नु समेत चुनौतीको रूपमा देखिएको उनले उल्लेख गरे । लघुवित्तका समस्या सरकार, नियामक निकाय र सम्बद्ध संस्थाहरूको पहलमा समाधान नभए यसले समग्र वित्तीय प्रणालीमै जोखिम निम्त्याउने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लघुवित्त संघ नेपालका अध्यक्ष पोखरेलले नियामकीय र नीतिगत व्यवस्था कार्यान्वयन गर्न लघुवित्त संस्थाहरू तयार रहेको बताए । यसका लागि व्यवस्थापन समूह सबल, सक्षम हुनुपर्ने र त्यसमा सञ्चालकहरूले सहज रूपमा सहयोग गर्ने उल्लेख गरे । लघुवित्तका समस्या राजनीतिक विषय बनाइनु विडम्बना हुने भन्दै उनले जनप्रतिनिधिले समेत यस्ता संस्थाको मूल्यमान्यता र कार्यप्रकृति बझ्नुपर्नेमा जोड दिए ।

यसैगरी नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्त क्षेत्रमा देखिएका समस्यालाई चुनौतीसँगै अवसरको रूपमा लिनुपर्ने धारणा राखे । एकाध संस्थामा देखिएका समस्यालाई सामान्यीकरण गर्न नहुने भन्दै उनले लघुवित्तका सकारात्मक पाटा पनि हेर्नुपर्ने बताए । पछिल्लो समय लघुवित्तका मोडल परिवर्तनका चर्चा भइरहेकोमा उनले यस्था संस्था सञ्चालनको मोडलमा समस्या नभएको दाबी गरे । यद्यपि आवश्यक सुधार, संशोधन गरेर जान सकिने उनले बताए ।

आईबिएन मिडिया एन्ड रिसर्च प्रालिका प्रबन्ध निर्देशक हृदयराज गौतमको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर, कार्यकारी निर्देशकसहित नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाल लगायत संस्थाका प्रतिनिधि, लघुवित्त विज्ञ एवं सरोकारवालालगायत ६० जनाभन्दा बढीको उपस्थिति थियो ।

कार्यक्रममा लघुवित्त विज्ञ डा.भरत थापाले प्रस्तुत गर्नुभएको कार्यकपत्र:

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x