शेयर बजारमा झीनो सुधार, घट्न थाल्यो कारोबार रकम

काठमाडौं, ३२ साउन । मौद्रिक नीति आएपछि अधिकांश दिन घट्दै गएको शेयर बजार परिसूचकलाई गत आर्थिक वर्षको बैंक तथा वित्तीय संस्थाको प्रतिवेदनले साथ दिन सकेन । अधिकांश बैंक तथा वित्तीय संस्थाको लभांश क्षमता खुम्चिँदाको असर शेयर बजारमा परेको छ । त्यसमाथि भदौमा अधिकांश बैंकको ब्याजदर वृद्धिले समेत शेयर बजार प्रभावित भएको छ । यी विविध कारणले शेयर बजार बढ्न नसकिरहेका बेला साताको अन्तिम दिन आज (बिहीवार) भने झीनो अंकले सुधार भएको छ ।
बिहीवार नेप्से परिसूचक ८.०१ प्रतिशतले बढेर २०३३.१३ विन्दुमा पुगेको छ । यस दिन २७१ धितोपत्रको कारोबार हुँदा १३५ ओटाको मूल्य बढ्यो भने ७८ ओटाको घट्यो । यस्तै १२ ओटाको मूल्य स्थिर रह्यो । यस दिन ४० लाख ९ हजार कित्ताभन्दा बढी धितोपत्र खरीद विक्री हुँदा १ अर्ब ५४ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ ।
बिहीवार सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनी सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम रहेको छ भने लक्ष्मी इक्विटी फन्डको शेयरमूल्य सर्वाधिक घटेको छ । यस्तै कारोबारमा आएकामध्ये म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक बढेका छन् ।