Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

कुल लक्ष्यको साढे पाँच प्रतिशत राजस्व संकलन

कुल लक्ष्यको साढे पाँच प्रतिशत राजस्व संकलन

काठमाडौं, १ भदौ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा ७८ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन १ गतेदेखि साउन ३२ गतेसम्म कुल लक्ष्यको ५.५४ प्रतिशत राजस्व संकलन भएको हो ।

चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । जसमा राजस्वबापत १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ भने बाँकी तीन खर्ब आन्तरिक र बाह्य ऋणबाट उठाउने सरकारको लक्ष्य छ ।

यसमा पनि कर राजस्वबापत १३ खर्ब पाँच अर्ब ४७ करोड रुपैयाँ र गैरकर राजस्वबापत एक खर्ब १७ अर्ब ६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।

साउन १ देखि ३२ गतेसम्म सरकारले कर राजस्वबापत ७० अर्ब १७ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गैर कर राजस्वबापत आठ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको महालेखा नियन्त्रकको तथ्यांकले देखाउँछ ।

कर भनेको राज्यलाई बुझाउनु पर्ने अनिवार्य दायित्व हो । कर राजस्व भनेको प्रत्यक्ष कर हो । यसमा आय कर, सम्पत्ति कर, घर जग्गामा लाग्ने कर पर्दछन् भने अप्रत्यक्ष करमा वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर पर्दछन् ।

सरकारले चालु आर्थिक वर्षमा चालुतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ, पूँजीगततर्फ चार खर्ब ७१ अर्ब ६ करोड र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ३० अर्ब ९१ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । चालु खर्च भनेको कर्मचारी तथा सेवा सुविधामा हुने खर्च हो । पूँजीगत खर्च भनेको विकास निर्माणमा हुने खर्च हो । वित्तीय व्यवस्थापन भनेको आन्तरिक तथा बाह्य ऋण तिर्न प्रयोग गर्ने रकम हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x