Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको पाँच वर्षे समयावधि प्रारम्भ

काठमाडौं, १३ भदाै ।नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) ले दुवैको संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरेका छन् । नेपाल सरकार र एमसीसीबीच एमसीसी नेपाल कम्प्याक्टको पूर्वतयारी चरणमा यथेष्ट प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो ।

माननीय अर्थमन्त्री डा. प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष श्री क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको समुपस्थितिमा आयोजित एक विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (Entry into Force – EIF) सम्बन्धी पत्र आदानप्रदान गर्नुभयो । ‘कार्यान्वयनमा प्रवेश’ (Entry into Force – EIF)ले पाँच वर्षको समयसीमाभित्र कम्प्याक्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न हुने सुनिश्चितताका लागि पूर्व शर्तहरू तथा तयारी कार्य पूरा भएको जनाउने भएकोले यसलाई एमसीसी कम्प्याक्टका सन्दर्भमा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइन्छ ।

उक्त अवसरमा अर्थमन्त्री डा. महतले भन्नुभयो, “राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषित विद्युत् प्रसारण आयोजना र नेपालको रणनैतिक सडक सञ्जालमा लगानी गर्ने सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भ भएको घोषणा गर्न पाउँदा खुशी लागेको छ ।”

अर्थमन्त्री डा. महतले नेपालको आर्थिक विकासलाई सघाउने एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका आयोजनाहरूले सडक स्तरोन्नति तथा भरपर्दो विद्युत् आपूर्तिमार्फत नेपाली जनतालाई लाभान्वित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा सहभागी हुँदै नेपालका लागि अमेरिकी राजदूत श्री डीन थम्पसनले बताउनुभयो, “अमेरिका र नेपालबीच ७५ वर्षभन्दा बढी समयदेखि बलियो मैत्रीपूर्ण सम्बन्ध छ र हाम्रो मित्रताको एउटा उत्साहवद्र्धक कोशेढुङ्गा एमसीसी नेपाल कम्प्याक्ट हो । यसले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्नेछ र विद्युत् तथा यातायातमा नेपाली जनताको पहुँचमा सुधार गर्नेछ । आज यस महत्वपूर्ण कोशेढुङ्गा घोषणा कार्यक्रममा सहभागी हुन पाउँदा निकै हर्षित छु र नेपालको आर्थिक विकासमा कम्प्याक्टले उल्लेख्य प्रभाव पार्ने अपेक्षा गर्दछु ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x