नेपाल–चीन ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्ट कार्यान्वयन, पहिलो कन्साइन्मेन्ट उद्घाटन
काठमाडौं, २१ भदौ । नेपाल–चीन ट्रान्जिट ट्रान्सफोर्ट एग्रिमेन्ट कार्यान्वयनमा आएको छ । उक्त सम्झौता कार्यान्वयनस्वरुप चिनियाँतातोपानी नाकाबाट ल्याइएको चिनियाँ वस्तुको कन्साइन्मेन्ट उद्घाटन गरिएको छ । लामो समयदेखि बन्द रहेको उत्तरी नाका तातोपानी् सुचारु भएसँगै नेपाली आयातकर्ताले भित्र्याएका सामानको कन्टेनर उद्घाटन गरिएको हो । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर, वाणिज्य सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त कन्टेनर संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा चिनियाँ राजदूत छनले उक्त सम्झौता कार्यान्वयनमा आएसँगै नेपाल–चीन व्यापार थप सहज हुने बताए । साथै तातोपानीलगायत नाकाबाट नेपालमा चिनियाँ मालवस्तुको ढुवानी आगामी दिनमा थप सहज हुने बताए । नेपालका उत्तरी नाका महत्वपूर्ण रहेको भन्दै नाकासहित व्यापार पूर्वाधारमा हुने सुधारबाट नेपालले ठूलो लाभ प्राप्त गर्ने उनको भनाइ थियो ।
यस्तै वाणिज्य सचिव रासिनीले उक्त सम्झौता कार्यान्वयनमा आउनु सुखद पक्ष रहेको भन्दै अब द्विपक्षीय व्यापारमा देखिएका अवरोध समेत हट्ने बताए । नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि अन्तरराष्ट्रिय व्यापारका लागि सडक पूर्वाधार निकै महत्वपूर्ण रहेको र यसमा चीनसँग हुने सम्झैता र सहकार्यले सहज हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष तुलाधरले नाकालगायत पूर्वाधारमा हुने सुधार र सहजीकरणले नेपाल–चीन व्यापारमा उल्लेख्य टेवा पुग्ने बताए । चीनसँग नेपालको व्यापारिक सम्बन्ध मात्र नभई जनताजनताबीचको सामाजिक सम्बन्ध समेत उनको भनाइ थियो । चीन सरकारले द्विपक्षीय व्यापार सहजीकरणमा गर्ने सहयोगले नेपालको अर्थतन्त्रमा समेत सहयोग पुग्ने धारणा उनले व्यक्त गरे । नेपाली सामान चिनियाँ बन्दरगाहबाट तेस्रो मुलुकमा निर्यात गर्ने सम्बन्धमा सन् २०१६ मार्चमा नेपाल र चीनबीच उक्त सम्झौता भएको थियो ।
तातोपानी नाकाबाट भित्रिएको पहिलो कन्साइन्मेन्ट उद्घाटन कार्यक्रममा नेपाल सरकार, नेपाल चीन उद्योग वाणिज्य संघ, चिनियाँ दूतावासका प्रतिनिधिलगायतको उपस्थिति थियो ।