स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न दिएसँगै शेयर बजारमा प्रभाव
काठमाडौं, २६ भदौ । स्थानीय तहको ६० प्रतिशत पैसा वाणिज्य बैंकहरूले निक्षेपमा गणना गर्न पाउने व्यवस्था भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । अर्थ मन्त्रालयले गत आइतबारदेखि लागु हुने गरी यो निर्णय गरेपछि आइतबार र सोमबार गरी साढे ५४ अंकले नेप्से बढेको थियो ।
आइतबा नेप्से परिसूचक १०.२३ अंकले बढेको थियो भने सोमबार बजार ४४.३० अंकले बढेर बन्द भएको छ । सोमबार परिसूचकसँग कारोबार रकम पनि बढेको छ । सोमबरा एक अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
स्थानीय तहको पैसा भनेको ब्याज तिर्नु नपर्ने पैसा हो, त्यो पैसा प्रणालीमा थपिंँदा तरलता बढ्नुका साथै बैंकहरूको बेस रेट घट्ने र यसले बैंकहरूको कर्जाको ब्याज दर नै सस्तो हुने बताइएको छ ।
यसअघि पनि स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । तर, गत असार मसान्तदेखि उक्त व्यवस्था खारेज भएको थियो ।
बैंकर्सहरूले नै यो पैसा निक्षेपमा गणना गणना गर्न पाउनुपर्ने माग गरेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले भदौ २१ गते निर्णय गरी स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेरेका हुन् । यसअघि ८० प्रतिशत यो पैसा निक्षेपमा गणना हुन्थ्यो भने अहिले घटाएर ६० प्रतिशतमा झारिएको छ ।
अर्काे व्यवस्था नभएसम्म यो व्यवस्था निरन्तर लागु हुने पनि बताइएको छ । तर, यो पैसा बैंकहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भनिएको छ ।