अर्थतन्त्रमा सुधार आउन थाल्याे अब गाडीको व्यापार बढ्छ : अर्थमन्त्री महत
काठमाडौं, २६ भदाै । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आउन थालेकाे र अब गाडीको व्यापार बढ्ने बताएका छन् । काठमाडाैंमा मंगलबारदेखि सुरू भएको नाडा अटो सो उद्घाटनमा अर्थतन्त्रका समस्या अब चाँडै हल हुने र आर्थिक गतिविधि विस्तारै बढ्दै जाने ठोस आधार देखिएको बताए ।
उनले भने, ‘विदेशी विनिमय सञ्चिति बढेको छ, विदेशी पर्यटक बढ्न थालेका छन्, जग्गा कित्ताकाट खुलेको छ, अटो क्षेत्रका समस्या पनि समाधान हुँदै गएका छन्, अब गाडीको व्यापार बढ्छ ।’
नेपालमा गाडी डिलर धेरै भएको उनले टिप्पणी गर्दै उनले हरेक गल्लीमा २-३ वटा डिलर हुँदा लागत बढेको र मर्जर आवश्यक रहेकाे बताए ।
नेपालमा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाले गाडीको पनि एसेम्ब्लिङ सुरु गर्न व्यवसायीलाई उनले आग्रह गरे । ‘नाडा अब डिलर एसोसिएसनभन्दा पनि उत्पादन एसोसिएसन बन्नुपर्छ,’ महतले भने, ‘एसेम्ब्लिङ सुरु गर्नुस्, सरकारले सहुलियत पनि दिन्छ ।’