Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

युक्रेन संकटको प्रभाव : युरोजोनको आर्थिक वृद्धि १ प्रतिशत मुनि, मुद्रास्फीति घटाउन पनि चुनौती

युक्रेन संकटको प्रभाव : युरोजोनको आर्थिक वृद्धि १ प्रतिशत मुनि, मुद्रास्फीति घटाउन पनि चुनौती

काठमाडौं, २७ भदौ । पछिल्लो डेढ वर्षयता जारी रुस–युक्रेन तनाव साम्य हुने अझैन अनिश्चित छ । युक्रेन युद्धबाट कुनै हालतमा पछि नहट्ने अडानमा रहेको रुसले सैन्य संख्यामा भएको क्षतिको समायोजनका लागि नयाँ सेना भर्ना तीव्र पारेको छ भने युद्धलाई सार्वभौमिकतासँग जोड्दै आएको युक्रेन बाध्यतावश युद्ध लडिरहेको छ । भलै रुसको तुलनामा उसको भौतिक तथा मानवीय क्षति बढी छ । तर लामो समयसम्म जारी यी दुई मुलुकको युद्धको प्रभाव भने समग्र विश्व अर्थतन्त्रमै परेको छ । यसका धेरै दृष्टान्तमध्ये एक हो, युरो जोनको आर्थिक सुस्ती र चर्को मुद्रास्फीति ।

यस वर्ष युरो क्षेत्रको आर्थिक वृद्धि शून्य दशमलव आठ प्रतिशतमा खुम्चिने प्रक्षेपणले विशेषगरी युरोपमा युक्रेन संकटको असर कतिसम्म परेको छ भन्ने आकलन सहजै गर्न सकिन्छ । युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ ।

सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । तर सोमवार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ ।
युरोपेली सङ्घ (ईयू) को कार्यकारी प्रशासनिक निकायसमेत रहेको आयोगले सन् २०२३ मा जर्मनीको अर्थतन्त्र ०.४ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । जर्मनीले आफ्नो विशाल औद्योगिक क्षेत्रमा मन्दीको सामना गरिरहेको छ । निर्यातमा कमजोर प्रदर्शनको सामना गरिरहेको छ । यी दुवै अवस्थाले समग्र अर्थव्यवस्थामा महत्वपूर्ण प्रभाव पार्छ ।

आयोगले आफ्नो प्रतिवेदनमा युक्रेनमा भएको युद्धसँग जोडिएको ऊर्जाको मूल्यमा आएको झट्काका कारण जर्मनी ‘विशेष गरी प्रभावित’ भएको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा जर्मनी मात्र विकसित अर्थतन्त्र हुने प्रक्षेपण गरिसकेको छ । युरो क्षेत्र र समग्रमा युरोपेली सङ्घको आर्थिक वृद्धि दर जारी रहनेछ तर यो वर्षको सुरुमा अनुमान गरिएभन्दा कम हुनेछ ।
युक्रेनमा जारी युद्धका कारण उत्पन्न ‘आर्थिक व्यवधान’लाई इंगित गर्दै युरोपेली सङ्घका अर्थतन्त्र आयुक्त पाओलो जेन्टिलोनीले भनेका छन्, ‘यस वर्ष हाम्रो अर्थतन्त्रले सामना गर्नुपरेका विभिन्न समस्याले वसन्त ऋतुमा हामीले अनुमान गरेभन्दा कमजोर आर्थिक वृद्धिको गति निम्त्याएको छ ।’ सन् २०२३ का लागि २७ राष्ट्र सम्मिलित ईयूको आर्थिक वृद्धिदरको अनुमानलाई पनि घटाएर ०.८ प्रतिशतमा झारिएको छ ।

सन् २०२४ मा विश्वका २० देश मिलेर बनेको एकल मुद्रा क्षेत्र (युरोजोन) १.३ प्रतिशतले वृद्धि हुने आयोगले जनाएको छ । ईयूको आर्थिक वृद्धि दर आगामी वर्ष १.४ प्रतिशत रहने अनुमान पनि आयोगले गरेको छ । युरोजोन मुद्रास्फीतिको पूर्वानुमानलाई पनि परिमार्जन गरिएको छ । युरोजोन मुद्रास्फीतिको पूर्वानुमान ५.६ प्रतिशतको तुलनामा सन् २०२३ मा सामान्य बढी ५.८ प्रतिशत रहने अनुमान गरिएको छ । युरोजोनमा उपभोक्ता मूल्य सन् २०२४ मा सन् २०२३ को (२.८ प्रतिशत) को तुलनामा २.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

(एजेन्सीको सहयोगमा)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x