Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

पोखरा र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल चार्टर्ड उडानमै सीमित, बढ्दै सरकारलाई भार

पोखरा र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल चार्टर्ड उडानमै सीमित, बढ्दै सरकारलाई भार

काठमाडौं, २८ भदौ । पर्यटन पूर्वाधारका लागि महत्वपूर्ण पूर्वाधार हो विमानस्थल । यही आवश्यकता र महत्वलाई ध्यानमा राख्दै नेपालमा काठमाडौं बाहिर थप दुई अन्तरराष्ट्रिय विमानस्थल निर्माण भए– गौतमबुद्ध र पोखरा विमानस्थल । साविकका विमानस्थल स्तरोन्नतिमार्फत निर्माण गरिएको भए पनि त्यसमा अर्बौं लगानी भएको छ । ठूलो बाह्य ऋण लगानीमा निर्मित उक्त विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा सेतो हात्ती बन्ने सम्भावना बढेको छ । भैरहवा विमानस्थलमा विगतमा जजीरा एयरलाइन्सले नियमित उडान गरिरहेकोमा हाल बन्छ । यता पोखरा विमानस्थलमा पनि हालसम्म दुईओटा चार्टर्ड उडानबाहेक नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन ।

पोखरा विमानस्थलमा गत असारमा ड्रागन बोट रेस प्रतियोगिताका लागि आउने चिनियाँ पर्यटक ल्याउन चीनको सिचुवान एयरलाइन्सले चार्टर्ड उडान गर्‍यो, जुन सो विमानस्थलकै पहिलो अन्तरराष्ट्रिय उडान हो । त्यसको दुई महिनापछि यही भदौ २४ मा भुटानको राष्ट्रिय ध्वजावाहक ड्य्रुक एयरले दोस्रोपटक उडान गरेृको छ । त्यसबाहेक यस विमानस्थलबाट अन्य उडान हुन सकेका छैनन् ।

यस्तै गतवर्षको जेठमा उद्घाटन भएको गौतमबुद्ध विमानस्थलबाट केही समय जरीरा एयरवेजले नियामित उडान गरे पनि बीचमै रोकियो । केही समयपछि पुनः उडान शुरू भएकोमा गत वैशाख ७ पछि यो एयरलाइन्सको उडान पनि रोकिएको छ । उद्घाटनपछि नेपाल एयरलाइन्ससहित श्रीलंकन एयर, फलाइ दुवइ, थाइ स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायत ११ मुलुकका कम्पनीहरुले उडान भर्न चासो देखाए पनि उडान थाल्न सकेनन् । हाल यो विमानस्थलबाट नेपाल एयरलाइन्सले साताको एक दिन काठमाडौंलाई ट्रान्जिट बनाएर मलेसियाको क्वालालम्पुरमा उडान गर्दै आएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्त जगन्नाथ निरौला दीर्घकाललाई लक्षित गरेर बनाइएका यी विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि प्राधिकरणले पहल गरिरहेको बताउँछन् ।

‘हाल गौतमबुद्धबाट नेपाल एयरलाइन्सले साताको एकपटक भए पनि अन्तरराष्ट्रिय उडान गरिरहेको छ,’ उनले भने, ‘उता, पोखरा विमानस्थलबाट पनि चार्टर्ड उडान हुन थालेका छन् । अब विस्तारै नियमित उडान पनि बढ्छ ।’
त्यसो त सञ्चालनमा आइसके यी दुई विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न हवाई रूट लगायत प्राविधिक जटिलता अझै पनि सल्टिसकेको छैन । गौतमबुद्ध विमानस्थलमा उडान अवतरणका लागि भारतले भैरहवा प्रवेश बिन्दुमा अनुमति दिएको छैन, जसले गर्दा हवाईजहाज १६० किलोमिटर घुमेर सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता छ । यता पोखरा विमानस्थलबाट आफ्ना शहरमा उडानका लागि भारतले अनुमति दिएको छैन । यी बाध्यताकै बीच विमानस्थलबाट अन्तरराष्ट्रिय उडान बढाउन सरकारले सक्षम व्यवस्थापक कम्पनीलाई सञ्चालनको जिम्मेवारी दिनुपर्ने होटल संघ नेपालका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी योगन्द्र शाक्य बताउँछन् ।

‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालनका लागि भैरहवा प्रवेश बिन्दुमा भारतले अझै पनि अनुमति दिएको छैन, यसले गर्दा एयरलाइन्स उडान महँगो परेको छ,’ उनले भने, ‘यद्यपि भएकै संरचना र रुटमा समेत अन्तरराष्ट्रिय उडान बढाउन सकिन्छ । यसका लागि सरकार र प्राधिकरणले निजीक्षेत्रसँग सहकार्य गर्नुपर्छ ।’  होटलको जस्तै उक्त विमानस्थल व्यवस्थापनको जिम्मा पनि निजीक्षेत्रका कम्पनीलाई दिनुपर्ने समेत उनले बताए ।
झन्डै ४० अर्ब ऋण बोकेका यी दुई विमानस्थल अन्तरराष्ट्रियतर्फ नियमित सञ्चालनमा ल्याउन नसक्दा सरकारलाई भार थपिँदै गएको छ । यो विमानस्थलप्रति आकर्षित गर्ने उद्देश्यले अवतरण, विसान, सञ्चार तथा उड्डयन सेवा, सुरक्षा जाँचका साथै ग्राउन्ड ह्यान्डलिङमा प्राधिकरणले विशेष छूट दिए पनि उपलब्धि शून्यप्रायः छ ।

हाल भैरहवा विमानस्थलबाट सरकारी वायुसेवा कम्पनी नेपाल एयरलाइन्सले सातामा एक दिन भैरहवा–काठमाडौं–क्वालालम्पुर उडान गर्दै आएको छ । विदेशी मात्र होइन, स्वदेशी कम्पनीले समेत नियमित उडान नगरेपछि विमानस्थलको उपादेयतामाथि नै प्रश्न उठ्न थालेको छ । यो अवस्था अन्त्य गर्न सरकार र नियामक निकायले निजीक्षेत्रसँग समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ ।

गतवर्षको जेठ २ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतम बुद्ध विमानस्थलको उद्घाटन गरिएको थियो । त्यस्तै पुस १७ मा पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आयो । पोखरा अन्तरराष्ट्रिय विमानस्थल चिनियाँ एक्जिम बैंकको २२ अर्ब रुपैयाँ बराबरको ऋणमा निर्माण भएको हो । जुन अहिले २८ अर्ब नाघिसकेको छ । यस्तै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल एसियाली विकास बैंकको ८ अर्ब ५५ करोड ऋणसहित करिब ३० अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x