इभीमा उपभोक्ताको आकर्षण, आईसिई गाडी ओझेलमा
काठमाडौं, २९ भदौ । यतिबेला काठमाडौंको भृकुटीमण्डपमा नेपालको अटो क्षेत्रकै कुम्भमेला मानिने ‘नाडा अटो शो २०२३’ चलिरहेको छ । मेलामा विभिन्न ४५ ब्राण्डका नयाँ नयाँ मोडेलका सवारी सार्वजनिक भएका छन्, जसमा १६ ब्रान्डका चारपांग्रे, २२ ब्रान्डका दुईपांग्रे, ७ ब्रान्डका लाइट कमर्सियल भेहिकल रहेका छन् ।
मेलाको चौथो दिन आज (शुक्रवार) अवलोकनकर्ताको निकै भीडभाड देखिन्छ । मेला अवलोकन गर्ने र गाडी खरीदका लागि बुकिङ गर्नेहरु पनि मेलामा आउने क्रम बढेको छ । मेलामा राखिएका भेइकलमध्ये विद्युतीय सवारीमा उपभोक्ताको निकै आकर्षक देखिएको छ । अहिलेसम्म नेपालमा इभीप्रति सर्वसाधारण विश्वस्त हुन सकेका थिएनन् । तर यस वर्ष भने सरकारले समेत विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएको छ ।
इभीले इन्धन पखत हुने, नेपाली मुद्रा बाहिरन कम हुने, मर्मत सम्हारमा खर्च कम लाग्ने र सस्तो पर्ने भएकाले उपभोक्ताको रुचि पनि विद्युतीय सवारीमा बढेको उपभोक्ताहरुको बुझाइ छ ।
इभी अहिले बजारको नयाँ ट्रेन्ड भएकाले पनि नेपालमा मात्र नभएर विश्वभरमा नै यसको आकर्षण बढेको व्यवसायीहरु बताउँछन् । इभीमा आकर्षण बढेसँगै आईसिई गाडी भने ओझेलमा परेका छन् ।
बिहीवार साँझसम्म अटो नाडा शोमा करिब ३४ हजार २०० जनाले अवलोकन गरिसकेका छन् । बिहीबार मात्रै १४ हजार बढीले अवलोकन गरेको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।