Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

निक्षेप तथा कर्जा सुरक्षा कोष भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

निक्षेप तथा कर्जा सुरक्षा कोष  भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत

काठमाडौं, ४ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका छन् । कोषको ५०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यसका लागि निजीक्षेत्रले पनि सकारात्मक सन्देश फैलाउनुपर्छ ।’

अर्थतन्त्रमा समस्या छन् । तर ती समस्या विस्तारै कम हुँदै गएको उनको भनाइ थियो । ‘समस्या सम्बोधनका लागि सरकारले सहजीकरण गर्छ । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्,’ उनले भने, ‘पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिसोर्स आइरहेको छ, तर चलायमान भएको छैन,’ उनले भने, ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं । बैंकहरूले लगानी नगरून्, पैसा थुपारून्, राखून् भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’

४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करीब १७ लाख ऋणीलाई कोषले सुरक्षा दिइरहेको मन्त्री महतले बताए । ‘यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ,’ उनले ने ।

‘सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सुचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको छ,’ मन्त्री महतले भने, ‘जब हामी लगानी गर्छौं, अवश्य पनि जोखिमपूर्ण हुन्छ । त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ । साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सृजना गर्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x