नेपाललाई २० लाख अमेरिकी डलर सहयोगको घोषणा
काठमाडौं, ५ असोज । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को ‘डेमोक्रेसी डेलिभर्स’कार्यक्रमले नेपाललाई २० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा आयोजित कार्यक्रममा विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युएसएआईडी प्रशासक सामन्था पावरले फोर्ड फाउन्डेसन तथा रकफेलर फाउन्डेसनसँगको साझेदारीमा नेपाल लगायत लोकतान्त्रिक रूपान्तरणको अनुभव गरिरहेका अन्य मुलुकमा लगानी गर्ने सम्बन्धमा परोपकारी तथा निजी क्षेत्रका साझेदारहरूसँग बैठक गर्नेक्रममा सो घोषणा भएको हो ।
उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । कार्यक्रममा युएसएआईडीले अर्थतन्त्रको स्थायित्व, रोजगारी र पारिश्रमिक वृद्धिको प्रवर्द्धन, लगानी परिचालन र लोकतान्त्रिक लाभांश वितरणका लागि नेपालले २० लाख अमेरिकी डलर प्राप्त गर्ने घोषणा गरेको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।