माथिल्लो मैलुङ खोला जलविद्युत्को आईपीओ आजदेखि, १० देखि १० हजार कित्तासम्म माग गर्न सक्ने
काठमाडौं, १८ असोज । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्दैछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँड गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले १२ लाख ८४ हजार २०० कित्ता आईपीओे सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० अंकित मूल्यमै आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । बिक्री अवधि असोज २२ गतेसम्म रहेको छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा कात्तिक २ गतेसम्म विक्री अवधि थप हुने कम्पनीले जानकारी दिएको छ ।
आईपीओ निष्कासन गर्न गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ ।
कम्पनीले रसुवा जिल्लामा १४.३ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ रहेको छ । हालसम्म आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भैसकेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनी हाल सञ्चित नोक्सानीमै रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ४६ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनी आर्थिक वर्ष २०७७/७८ मा १ करोड ४२ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको थियो । आर्थिक वर्ष २०७८/७९ सम्म भने कम्पनीको सञ्चित नोक्सानी २ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको छ । यी आर्थिक वर्षको वित्तीय अवस्था वास्तविक रहेको भनाइ कम्पनीको छ ।