एमसिसीले आर्थिक विकासको ढोका खोल्ने विश्वास
काठमाडौं, १८ असोज । सरकारले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरसन (एमसिसी)ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा बुधबार काठमाडौँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियाका विशाल अर्थतन्त्र भएका मुलुकसँग जोड्ने र देशको आर्थिक वृद्वि तथा गरिबी घटाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एमसिसी परियोजना पूरा भएपछि नेपालको समग्र अर्थतन्त्र सुदृढ बन्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे । यस परियोजनाले नेपालमा भरपर्दो विद्युत् सेवा र सडक सञ्जालको निर्माण हुने विश्वास व्यक्त गर्दै विद्युत् प्रसारण लाइन बनेपछि बिजुली निर्यात सहज हुने र त्यसले देशको आर्थिक उन्नयनमा योगदान गर्ने उनले बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा सघाउने एमसिसी कार्यान्वयनबाट उन्नत सडक एवं भरपर्दो विद्युत् आपूर्ति भई नेपाली जनता लाभान्वित हुने बताए । परियोजनामा नेपाल सरकारको समेत लगानी रहेकाले परियोजना कार्यान्वयनमा अवरोध गर्ननहुनेमा जोड दिँदै सरकारका तर्फबाट परियोजना सम्पन्न गर्न हरसंवभ सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले नेपालको आर्थिक विकासको मेरुदण्डका रूपमा एमसिसी परियोजनाले योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपाल सरकारसँगको सहकार्यमा परियोजना विकास गरिएको स्पष्ट गरिन् ।
नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्सनले एमसिसी नेपाल कम्प्याक्ट नेपाली जनताको आर्थिक विकासमा सहयोग गर्ने महत्वपूर्ण अमेरिकी प्रयास भएको उल्लेख गर्दै नेपाल र अमेरिकाको ७६ वर्ष पुरानो सम्बन्धमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा भएको बताए ।