साढे २ महिनामा नेपालले भारतलाई ६ अर्ब २१ करोडको विद्युत बेच्यो

काठमाडौं, १९ असोज । चालू आर्थिक वर्षको साढे दुई महिनामा ६ अर्ब २१ करोड रुपैयाँ बराबरको विद्युत भारत निर्यात भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार साउनमा १ अर्ब ९४ करोड ८४ लाख, भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ र असोजको १ गतेदेखि १५ गतेसम्म १ अर्ब ७८ करोड रुपैयाँँको विद्युत भारतीय बजारमा निर्यात भएको हो ।
साढे दुई महिनाको समग्र औसत विद्युत बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ ।
प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ ।
विद्युत निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको विश्वास छ ।