राष्ट्रियस्तरका विकास बैंकलाई निक्षेप संकलनमा कुनै सीमा नलाग्ने

काठमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकहरुलाई निक्षेप संकलनमा कुनै पनि सीमा नलाग्ने व्यवस्था गरेको छ । यसअघि आफ्नो प्राथमिक पूँजीको २० गुणासम्म मात्र निक्षेप संकलन गर्न पाउने व्यवस्था थियो ।
यो व्यवस्थालाई संशोधन गरेर राष्ट्र बैंकले अब राष्ट्रियस्तरका विकास बैंकबाहेक अन्य विकास बैंकलाई मात्र आफ्नो प्राथमिक पूँजीको २० गुणासम्म निक्षेप संकलन गर्न पाउने व्यवस्था गरेको हो ।
‘राष्ट्रिय स्तरका विकास बैंक बाहेक “ख” वर्गको इजाजतपत्रप्राप्त संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा २० गुणासम्म वित्तीय स्रोत (ब्याज वा बिना ब्याजमा स्वीकार गरिने कुनै पनि प्रकारको निक्षेप, सापटी र विभिन्न किसिमका ऋण उपकरणहरु) संकलन गर्न सक्नेछ,’ बिहीबार सार्वजनिक गरेको निर्देशनमा भनिएको छ ।
नेपालमा १६ वटा विकास बैंक सञ्चालनमा छन् । यीमध्ये राष्ट्रियस्तरका ८ वटा छन् ।
साग्रिंला डेभलपमेन्ट, कामना सेवा विकास, महालक्ष्मी विकास, शाइन रेसुङ्गा, मुक्तिनाथ विकास, लुम्बिनी विकास, ज्योति विकास र गरिमा विकास बैंक राष्ट्रियस्तरका विकास बैंक हुन् ।