इजाजतपत्र नलिइ जग्गा कारोबार गराउनेलाई ६ महिना जेल

काठमाडौं, २२ असाेज। इजाजतपत्र नलिइ जग्गा कारोबार गराउनेलाई ६ महिना जेल सजाय प्रस्ताव गरिएको छ। सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा संसदीय उपसमितिमा इजाजतबिना जग्गा कारोबार गराउनेलाई ६ महिना जेल सजायको व्यवस्था गर्न सहमति जुटेको हो।
यसबाहेक २५ लाख जरिवानाको व्यवस्था गर्न पनि ११ सदस्यीय उपसमितिमा सहमति भएको छ। उपसिमितमा भएको यो सहमति कानुन समिति हुँदै संसद्का दुवै सदनले पारित गर्नुपर्छ। अन्यथा यसले कानुनी मान्यता पाउने छैन।
प्रतिनिधि सभाको कानुन समिति अन्तर्गतको उपसमितिको सोमबार बसेको बैठकमा उपस्थित विज्ञहरुले भने लाइसेन्सबिना जग्गा कारोबार गराउनेलाई २ वर्ष जेल सजाय वा ५० लाख जरिवानाको प्रस्ताव गरेका थिए। उपसमितिको थप गरिएको एक साताको म्याद सोमबार सकिंदैछ।