आर्थिक मन्दीको असर : २० प्रतिशत उद्योग बन्द

काठमाडौं, २३ असोज । उच्च ब्याजदर र वस्तुको मागमा आएको कमीका कारण देशभरका उद्योगले धमाधम उत्पादन घटाएका छन् । उद्योगहरु अहिले २५ प्रतिशत क्षमतामा मात्रै चलेको व्यवसायीको दाबी छ ।
सिमेन्ट उद्योग २० प्रतिशत क्षमतामा पनि चलेका छैनन् । यस्तै १० वटा उद्योगले त उत्पादन नै बन्द गरेका छन । आर्थिक मन्दीले दैनिक उपभोग्य बस्तुको बिक्री १८ र विद्युतीय उपकरणको बिक्री ५५ प्रतिशतले घटेको छ । बजारमा वस्तुको मागमा आएको कमीसँगै उद्योग बन्द हुने क्रम बढेको नेपाल उद्योग व्यवसायी राष्ट्रिय महासंघका महासचिव भगिरथ सापकोटाले जानकारी दिए ।
उच्च ब्याजका कारण गत वर्ष २० प्रतिशत साना उद्योगीले उद्योग नै नवीकरण नगरेको देखिन्छ । यो वर्ष पनि १५ देखि २० प्रतिशत उद्योग बन्द भइसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए ।