Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

चिरख्वा हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

चिरख्वा हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, २३ असोज । चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँड गरिएको छ ।

स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये बिक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्तासमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । प्रतिशेयर १०० रुपैयाँ मूल्यमै कम्पनीले आईपीओ बिक्री गर्न लागेको हो ।

यो आईपीओको बिक्री अवधि असोज २६ गतेसम्म रहने छ । उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा कात्तिक ३ गतेसम्म बिक्री खुला रहने छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।

यस कम्पनीले भोजपुर जिल्लामा ४ दशमलव ७ मेगावाट क्षमताकोे चिरख्वा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।

आर्थिक वर्ष २०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १४ हजार २६७ रुपैयाँ सञ्चित नाफामा छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म भने कम्पनीले ८२ लाख ९५ हजार रुपैयाँ भन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७८/७९ सम्मको वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ १ पैसा छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा भने २ करोड ७१ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x