३ साताको बजार अनुगमन : ५९७ स्थानमा अनुगमन गर्दा १ करोडको माल वस्तु नष्ट

काठमाडौं, २३ असोज । दशैँ नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको छ । विभागले असोज १ गतेदेखि तीव्र रूपमा दैनिक जसो बजार अनुगमन गर्ने गरेको छ ।
असोज १ गतेदेखि २२ गतेसम्मको विवरण अनुसार यस अवधिमा ५९७ स्थानमा अनुगमन गरिएको छ । जसमा १५९ फर्मलाई कारबाही गरिएको छ ।
बजार अनुगमनका क्रममा १६३ लाई कागजात माग गरिएको छ भने सामान्य अवस्थामा ११ वटालाई सम्झाइएको छ । यस अवधिमा १४५ वटा टोली अनुगमनमा खटिएका थिए ।
विभागले अनुगमन गर्दा १ करोड २ हजार ८२३ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको जानकारी दिएको छ । जसमा वस्तु नष्ट गरिएको फर्मको सङ्ख्या २० रहेको छ । केही फर्मलाई ४९ लाख ३२ हजार रुपैयाँ जरिवाना समेत तिराइएको छ ।
कारबाही पर्नेमा सबैभन्दा बढी खाद्य वस्तु बिक्री गर्ने छन् । खाद्य वस्तु बिक्री गर्ने ६३ कम्पनीलाई १९ लाख ५० हजार रुपैयाँ गरिवाना गरिएको छ । साथै १६ वटा किराना पसलहरूलाई ६ लाख ५५ हजार, १० वटा तरकारी तथा फलफूल पसलहरूलाई एक लाख ६० हजार, ८ वटा मासु पसलहरूलाई ७५ हजार र अन्यलाई ७ लाख २० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
यस अवधिमा ७ वटा रेडिमेट तथा थान कपडा कारबाहीमा परेको छ । जसलाई एक लाख ७ हजार जरिवाना तिराइएको छ ।