म्याग्दीमा तीन महिनापछि बिजुुली बल्यो
म्याग्दी, १ कात्तिक। म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।
परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलबारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुनले जानकारी दिए । “दसैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ”, उनले भने, “परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।
केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिराले लद्युुजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए ।