मस्रिक बैंकका पाँच दशक, नेपाली बैंकहरुलाई सेवा थप्ने प्रतिवद्धता

पूर्ण प्रसाद चौलागाई २०७४ भदौं २८ काठमाडौं । संयुक्त अरब इमिरेट्समा मुख्यालय रहेको मस्रिक बैंकले नेपाली बैंकहरुलाई बाह्य देशहरुमा बचतपत्र, ट्रेजरी विल्स तथा अन्य वित्तिय उपकरणहरुमा लगानी बढानउन आग्रह गरेको छ । मस्रिक बैंकले झण्डै डेढ दशकदेखि नेपाली बैंकहरुलाई विदेशी मुद्रा, बाह्य देशहरुमा त्यहाँका केन्द्रीय बैंक तथा अन्य वित्तिय संस्थाहरुले जारी गर्ने बचतपत्रहरुमा लगानी गरी मुनाफा आर्जनमा सहयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले पनि बाह्य देशहरुमा विभिन्न वित्तिय उपकरणहरु तथा सरकारी बचतपत्रहरुमा लगानी गर्दै आएको छ ।
मस्रिक बैंकले नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर सन् २०१० देखि नेपालमा प्रतिनिधि कार्यालय स्थापना गरी काम गर्दै आएको छ । नेपाल कार्यालयकी राष्ट्रिय प्रतिनिधि हेमा अधिकारीका अनुसार, मस्रिकले ट्रेड फाइनान्सिङ, रेमिट्यान्स, विदेशी मुद्रा तथा बाह्य देशका बचतपत्रहरुमा लगानीका लागि नेपाली बैंकहरुलाई सघाउँदै आएको छ ।पाँच दशकअघि स्थापना भएको मस्रिक बैंकको विभिन्न देशहरुमा शाखा सञ्जाल छ । बैंकले यसको न्यूयोर्कस्थित कार्यालयबाट डलरमा जारी भएको चेक क्लीयरिङ पनि गर्दै आइरहेको छ ।
नेपाल राष्ट्र बैंकले अनुमति दिएसम्म बैंकहरुले बाह्य देशका सरकारी बचतपत्र, ट्रेजरी विल्स, विदेशी मुद्रा तथा अन्य वित्तिय उपकरणहरुमा लगानी गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको प्राथमिक पुँजीको ३० प्रतिशतसम्म यस्ता उपकरणमा लगानी गर्न अनुमति दिएको छ । नेपाली बैंकहरुसँग रहेको करिब एक अर्ब डलरको विदेशी मुद्रा उल्लेखित उपकरणहरुमा लगानी हुँदै आएको छ । मस्रिकले नेपाली बैंक्हरुलाई विश्वसनीय उपकरणहरुमा मात्र लगानी गर्न सल्लाह दिदैं आएको छ । मस्रिक बैंकले नेपालमा प्रतिनिधि कार्यालय स्थापनाको सातौं वर्षगाँठ मनाउन आयोजना गरेको कार्यक्रममा बैंकको अन्तर्राष्ट्रिय बैंकिङ समूहका कार्यकारी उपाध्यक्ष जान विलियम सुदामले बैंककले भारतीय उपमहाद्वीप र अफ्रिकी देशहरुमा आफ्ना गतिविधि केन्द्रीत गर्ने सोच रहेको बताए ।
मस्रिकले वस्तु आयात तथा निर्यातका लागि खोलीएका प्रतितपत्र एवं प्रतितपत्रको जमानी बस्दा नेपाली बैंकहरुसँग लिने कमिसनको निश्चित प्रतिशत नेपाली बैंकहरुलाई नै फिर्ता समेत दिने गरेको छ । नेपालबाट खोलिने प्रतितपत्रको आधा भन्दा बढी हिस्सा मस्रिक बैंक तथा यसको जमानीमा हुने गरेको छ । मस्रिक बैंकले नेपालमा सामाजिक कार्यमा पनि सहयोग गर्दै आएको छ । दुई वर्षअघिको विनाशकारी भूकम्पलगत्तै बैंकले पीडितहरुको राहत र उद्दार कार्यका लागि सरकारलाई २७ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।