एडीबीले नेपाललाई १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

काठमाडौं, सरकार र एसियाली विकास बैंक (एडिबी) बीच आज ग्रामीण कनेक्टिभिटी परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
करिब १३ अर्ब रुपैयाँ बराबरको १० करोड अमेरिकी डलर ऋणको सम्झौतामा आज अर्थ मन्त्रालयमा अर्थसचिव कृष्णहरि पुष्कर र एडीबीका नेपालका लागि देशीय निर्देशक अर्नाउड कचोइसले हस्ताक्षर गरेका छन् ।
परियोजनाले ग्रामीण सडक जडानलाई सुदृढ गर्ने र ग्रामीण पूर्वाधार एजेन्सीहरू र सडक प्रयोगकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। प्रस्तावित सहायताले वर्षभरि सडक जडानको स्थापना र मर्मत गरी रूपान्तरणकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ।
नेपालका लागि एडीबीका देशीय निर्देशकले सहुलियतपूर्ण ऋणले नेपालका सातमध्ये पाँच प्रदेशमा ३२४ किलोमिटर क्षेत्रफलमा सबै मौसमी सडक र पुल निर्माण गरी ग्रामीण सम्पर्क विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।