जलविद्युत र सूचना प्रविधिमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडाैं, २० कार्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीका लागि राम्रो अवसर रहेको बताएका छन् ।
काठमाडौंमा सुरु भएको ३७ औं एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (सीएसीसीआई) सम्मेलन बोल्दै उनले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए। उनले भने, ‘बंगलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको छ।’
यस्तै उनले पर्यटन क्षेत्रमा लगानीको ठूलो अवसर रहेको भन्दै लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरेका छन्। यस्तै, लगानीका लागि सूचना प्रविधि क्षेत्र अर्को महत्वपूर्ण क्षेत्र भएको बताए। सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको बताउँदै अर्थमन्त्री महतले सम्मेलनमा उपस्थित विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।
आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउँदै त्यसले नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्ने उनको भनाइ छ। ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरि नेपाल सरकार अघि बढेको उनको भनाइ छ ।