एनसेलको विषयमा आज दुई समितिमा छलफल हुँदै
काठमाडौं, २० मंसिर । एनसेलको शेयर खरिद–बिक्रीको विषयमा आज दुई संसदीय समितिमा छलफल हुने भएको छ । अर्थ समितिमा बिहान ११ बजे र सार्वजनिक लेखा समितिमा दिउँसो २ बजे छलफल हुने भएको हो । सार्वजनिक लेखा समितिमा एनसेलको शेयर खरिद–बिक्री सम्बन्धी प्रारम्भिक छलफल हुने बताइएको छ ।
अर्थ समितिमा भने नेपाल दूरसञ्चार प्राधिकरणलाई नै डाकिएको छ । यो बैठकमा एनसेलको विषयमा नै केन्द्रित भएर प्राधिकरणलाई सोधपुछ गरिने एक सांसदले बताए ।
एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ ।
तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन । यसबारे दुई समितिका बैठकमा आज छलफल गर्न लागिएको हो ।
सरकारले छानबिनका लागि निर्देशन दिइसकिएको भन्दै दोषी पाइए कारबाही गर्ने स्पष्ट पारिसकेको छ ।