बजारमा कर्जाको माग बढाउन नीतिगत दर संशोधन आवश्यक

काठमाडौं, २२ मंसिर । नेपाल वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति खुकुलो पार्नुपर्ने समय आएको बताएका छन् ।
नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्ने तयारीमा रहेका बेला अधिकारीले बजारमा मागको अवस्था बढाउन तिर राष्ट्र बैंक लाग्नुपर्ने बताएका हुन् ।
बजारमा कर्जाको माग बढाउन नीतिगत दरहरु संशोधन गर्नुपर्ने उनको भनाई छ ।
‘राष्ट्र बैंकले मूल्य स्फिति नियन्त्रण गर्न केहि अघि कसिलो मौद्रिक नीति ल्याएपनि अब यसलाई खुकुलो गर्नु पर्ने अवस्था आएको छ ।’ उनले भने, ‘सेकेण्ड क्वाटर भनेको कर्जा विस्तार बढ्ने सिजन हो । यो बला नियामक निकायले खुकुलो नीति ल्याउँदा कर्जाको माग बढ्छ भने यसले अर्थतन्त्रलाई गतिशिल बनाउँछ ।’
‘डिटरमाइन हुने रेटहरु डाउनवर्ड भएभने त्यसले मार्केटमा सहजता ल्याउँछ। बैंकहरुले गर्नुपर्ने कामहरु गरिरहेको छ।’ उनले भने, ‘डिपोजिटमा दिने ब्याजहरुलाई रियालिष्टिक बनाएर त्यसमार्फत बेसरेट घटाएर कर्जालाई राहत दिन खोजेको छ । अब राष्ट बैंकबाट एसएलएस र नीतिगत दर, बेंकदरहरुमा संशोधन भयो भने बजारमा सकारात्मक सन्देश जान्छ ।’
नेपालमा पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेको छ ।
ऋण असुल नहुने तथा कर्जा प्रवाहसमेत नबढ्दा चालुगत असोज मसान्तसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ३.४० प्रतिशत छ ।
गत वर्षको सोही अवधिको तुलनामा यो १.६३ प्रतिशत बिन्दुले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा ती बैंकहरूको औसत खराब कर्जा १.७७ प्रतिशत थियो ।
यसरी बैंकको नाफामा आएको संकुचनले बैंकहरु दबाबमा रहेको अधिकारीको भनाइ छ ।
उनले भने, ‘२०८० असार मसान्त र असोज मसान्तको तथ्यांकलाई हेर्ने हो भने बैंकहरु दबाबमा रहेका छन् । खराब कर्जाको मात्रा बढेको त्यसले गर्दा प्रभिजन बढी राख्नु परेको प्रभिजन बढिराख्दा बैंकको नाफामा संकुचन आएको, यी कारणहरुदले बैंकहरु दबाबमा रहेका छन् ।’
अझ यस्तै दवावपूर्ण वातावरण भइरहने हो भने खराबकर्जा बढेर रिकभरीमै समस्या हुने अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ । उनले भने, ‘यसले बैंकको वित्तिय अवस्थमा नकारात्मक असर गर्न सक्छ ।’