४ महिनामा सरकारले खर्च गर्यो ३५५ अर्ब ६३ कराेड रुपैयाँ
काठमाडाैं, २८ मंसिर । चालु आर्थिक वर्षकाे पहिलाे चार महिनामा सरकारको कुल खर्च रु.३५५ अर्ब ६३ करोड भएको छ ।
सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्धि भएकोमा, समीक्षा अवधिमा १.३ प्रतिशतले मात्र वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
समीक्षा अवधिमा चालु खर्च रु.२७१ अर्ब १७ करोड, पुँजीगत खर्च रु.२९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च रु.५४ अर्ब ४७ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.२७६ अर्ब ६४ करोड भएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.२५४ अर्ब ३० करोड र गैर कर राजस्व रु.२२ अर्ब ३४ करोड परिचालन भएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।