लाइन काटिएका उद्योगीकाे एकै स्वर: कुलमानले हामीलाई अपराधी घाेषित गरे

काठमाडौं, १५ पुस । विद्युत लाइन काटिएका उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीलाई अपराधी बनाउने काम गरेको बताएका छन् ।
उद्योगीहरूले आइतबार पत्रकार सम्मेलन गर्दै डेडिकेटेड र ट्रंक लाइनवापतको महशुल नतिरेको झुठाे आराेप लगाएकाे बताएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं अर्घाखाँची सिमेन्टका संचालक पशुपति मुरारकाले उद्योगीहरुले समयमै सबै बिलकाे भुक्तानी गरेर प्रतिशत छुट समेत पाएकाे बताए । उनले कुनै पनि उद्योगले ट्रंक र डेडिकेटेडलाइनको लागि निवेदन दिएको नदिएकाे बताए । ‘४ वर्षपछि प्राधिकरणले चिठ्ठी पठाएर बक्यौता रहेको भनिएको छ,’ उनले भने,’उद्योगीले कुने सम्झौता गरेर लिएका छैनन्। यदि व्यापारीले चोरी गरेको भए त्यस अनुसारको कारबाही गर्नुपर्थ्यो।’
यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले एउटा व्यक्तिको महत्वाकांक्षाका कारण समस्या उत्पन्न भएको भन्दै बक्यौता तिर्छुभन्दा प्रमाण नदिनु कहाँसम्मको न्याय हो भन्दै प्रश्न गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले प्रमाण दिए उद्योगीहरु बक्यौता तिर्न तयार रहेको बताए। तर उद्योगीहरुलाई अपराधीको जस्तो व्यवहार भएको गुनासो गरे।
धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले विद्युत् प्राधिकरणले कानुनी प्रमाण देखाए बिल भुक्तानी गर्ने बताए ।सबैतिर रिलायन्स स्पिनिङ मिल्सले पनि १ अर्ब ९४ करोड तिर्न बाँकी रहेको भन्ने कुरा बाहिर आएको भन्दै मिल्सले विद्युत् महशुलको कुनै पनि रकम तिर्न बाँकी नरहेको गोल्यानको भनाइ छ ।