पाँच वर्षमा शिक्षा क्षेत्रको बजेट बढाएर १७ प्रतिशत बनाउने लक्ष्य
काठमाडौं, २५ पुस । सोह्रौँ पञ्चवर्षिय आवधिक योजनाले आगामी पाँच वर्षभित्रमा पाँच वर्ष उमेर समूह वा सोभन्दामाथिको साक्षरतादर शतप्रतिशत पुर्याउने याेजना अघि सारेकाे छ ।
१६औँ आवधिक योजनाको मस्यौदामाथि सोमबार र मङ्गलबार भएको छलफलमा आर्थिक वर्ष २०८५र८६ सम्ममा साक्षरता दर शतप्रतिशत पुर्याउने अवधारणा अघि सारेको हो । आयोगका अनुसार अहिले पाँच वर्ष र सोभन्दा माथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत मात्रै छ ।
शिक्षा क्षेत्रमा हाल सरकारले कुल बजेटको १० दशमलव ९५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी पाँच वर्षमा आयोगले शिक्षा क्षेत्रको बजेटलाई बढाएर १७ प्रतिशत बनाउने लक्ष्य लिएको छ । १६औँ योजनाको मस्यौदामा उल्लेख भए अनुसार हाल प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ७६ दशमलव ९ प्रतिशत छ । पाँच वर्षमा यसलाई बढाएर शतप्रतिशत पुर्याउने लक्ष्य तोक्न लागिएको छ।
यसैगरी, १६औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्य समेत अघि सारेको छ । अहिले सहरी क्षेत्रका विद्यालयमा शिक्षण सिकाइमा इन्टरनेटको पहुँच पुगे पनि अधिकांश विद्यालयमा शिक्षण सिकाइका लागि इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यस्तो दर हाल ३५ दशमलव नौ प्रतिशत रहेकोमा पाँच वर्षमा शतप्रतिशत पुर्याउने लक्ष्य आयोगले निर्धारण गर्न लागेको हो ।