कस्तो रह्यो यो साताको शेयर बजार ?
काठमाडौं, ६ माघ । यो साता १ दिन सार्वजनिक विदा परेसँगै ४ दिन मात्र शेयर कारोबार भयो । यो साताको अन्तिम कारोबार दिन दोस्रो बजारको कुल पूँजीकरण ३४ खर्ब नजिक पुगेको छ ।
अहिले शेयर बजारमा लगानीयोग्य पूँजी जुटाउन सहज भैरहेकाले बजार बढेको लगानीकर्ताको भनाई छ ।
लगानीकर्ताको उत्साहकाबीच १ हजार ८३० विन्दुसम्म झरेर उकालो गतिमा लागेको शेयर बजार यतिबेला २ हजार १५५ दशमलव ८२ विन्दुमा पुगेर बन्द भएको छ । कारोबारको आएको २ दिन बजार बढेको छ भने २ दिन बजार घट्यो । पहिलो कारोबार दिन ३१ दशमलव ६२ अंक, दोस्रो दिन ५४ दशमलव ५४ अंक बढेको बजार त्यसपछिका २ दिन दिन निरन्तर १२ दशमलव १० अंक र ७ दशमलव २४ अंकले बजार घटेको हो । अघिल्लो साताको तुलनामा गत साता बजार मापक नेप्से परिसूचक ३ दशमलव २० प्रतिशत अर्थात ६६ दशमलव ८३ अंक माथी उक्लिएको हो ।
४ कारोबार दिनमा ९ करोड ४६ लाख २६ हजारभन्दा बढी कित्ता शेयर ३१ अर्ब ४१ करोड ८२ लाख रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।
यस साता बढेको बजारमा २ समूहगत परिसूचकहरू भने घटेका छ्न् । नेप्सेका अनुसार होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव ८३ प्रतिशत र व्यापारिक समूहको परिसूचक १ दशमलव ३४ प्रतिशत घटेको हो ।
गत साताको तुलनामा यो साता अन्य समूहको परिसूचक सर्वाधिक ८ दशमलव ९३ प्रतिशत बढेको छ भने जलविद्युतको ६ दशमलव शून्य ८ प्रतिशत, लघुवित्तको ४ दशमलव २७ प्रतिशत, विकास बैंकको ३ दशमलव ४४ प्रतिशत, लगानीको २ दशमलव ८८ प्रतिशत, वित्तको २ दशमलव ८६ प्रतिशत, बैंकिङको २ दशमलव २७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ४९ प्रतिशत , जीवन बीमाको शून्य दशमलव ४७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव २४ प्रतिशत परिसूचक बढेको छ ।