६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड विप्रेषण आप्रवाह भित्रियाे
काठमाडाैं, २३ माघ । चालु आर्थिक वर्ष (२०८०/८१) को पुस महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई रु.७३३ अर्ब २२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
यस्तै यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो ।