शिवम सिमेन्ट्सले गर्यो ६ महिनामा ३ अर्ब ५१ करोड रुपैयाँ आम्दानी
काठमाडौं, २७ माघ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय अनुसार कम्पनीको बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव २९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा घटेर १४ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २० दशमलव ५२ प्रतिशत घटेको छ भने अन्य आम्दानी ४७ दशमलव ४० प्रतिशत घटेको छ ।
५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९८ पैसा घटेर ५ रुपैयाँ ९१ पैसा रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा रहेको छ ।