लाभांशको प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले बोलायो साधारणसभा, एफपीओ निष्कासन गर्ने
काठमाडौं, २० फागुन । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा चैत १६ गते बस्ने भएको छ । सभा चैत १६ गते, शुक्रबार सभा धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभासं वितरण गर्न प्रस्ताव पारित गर्नुका साथै एफपीओ निष्कासनको प्रस्ताव पारित पनि गर्नेछ ।
सभाले गत आर्थिक वर्षको ७ दशमलव ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अगाडी सारेको छ।
त्यस्तै, कम्पनीले ६ लाख ६९ हजार ९०० दशमलव २७ कित्ता एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने तय भएको छ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको सभामा भाग लिन तथा कम्पनीले घोषणा गरेको लाभांश पाउनेछन् ।