स्वीस बैंकमा नेपालीको झण्डै ३६ अर्ब रुपैँया
काठमाडौं, १८ असार । स्वीस बैंकहरुमा नेपालीले सन् २०१७ सम्म ३५ अर्ब ७२ करोड रुपैँया राखेको पाइएको छ । स्वीजरल्याण्डको केन्द्रीय बैंक– स्वीस नेशनल बैंकले सार्वजनिक गरेको विवरण अनुसार स्वीस बैंकहरुमा नेपालीहरुको सम्पत्ति ३२ करोड २८ लाख स्वीस फ्रैंक रहेको छ । स्वीजरल्याण्डको केन्द्रीय बैंकले केही वर्षयता उसको देशका बैंकहरुमा रहेको रकमको विवरण सार्वजनिक गर्दै आएको छ । उच्च गोपनीयता रहने कारण स्वीस बैंक विश्वभरका मानिसहरुको रोजाइमा रहने गरेको छ । विगतमा नेपालको राजपरिवारको स्वीस बैंकमा खाता रहेको तथ्य चर्चामा आउने गथ्र्यो । तर पछि गोपनीयताका कारण व्यापारीदेखि राजनीतिज्ञसम्मले स्वीस बैंकमा पैसा राख्ने गरेका छन् ।
खासगरी अकुत सम्पत्ति आर्जन गरेकाहरुले राज्यलाई छलेर आफ्नो सम्पत्ति लुकाउन स्वीस बैंकमा राख्ने गरेका छन् । पछिल्लो दश वर्षमा नेपालबाट स्वीस बैंकमा पैसा राख्नेहरु बढेका छन् । सन् २००८ मा स्वीस नेशनल बैंकले सार्वजनिक गरेको विवरणमा नेपालीको सम्पत्ति कुल ८ करोड ६२ लाख स्वीस फ्रैंक रहेको थियो । जानकारहरुका अनुसार, राजनीतिज्ञ, कर्मचारी र समाजका अन्य प्रभावशाली व्यक्तिहरुले अवैध ढंगले आर्जन गरेको रकम लुकाउने देखि व्यापारीले कर छल्न समेत स्वीस बैंकमा पैसा राख्ने गरेका छन् । व्यक्तिको नाममा गोपनीयता हुने कारण स्वीस बैंकहरु सबैको रोजाइमा पर्ने गरेको छ । नेपालबाट रकम बाहिर लैजान सहज नभएपनि यस्तो रकम हुण्डीका तथा आयातमा आवश्यकभन्दा बढी विलिङ गरेर स्वीस बैंकहरुमा पुर्याइन्छ । कतिपयले भ्रष्टाचार, करछली, लागु औषध, फिरौती, मानव बेचविखन, हातहतियारबाट अवैध तरिकाले आर्जन गरेको रकम समेत स्वीस बैंकहरुमा पुर्याएर सम्पत्ति शुद्धीकरण गरेको भन्दै अमेरिकाले दबाब दिएपछि स्वीस नेशनल बैंकले उसको देशका बैंकहरुमा कुन देशको कति पैसा छ भनेर विवरण सार्वजनिक गर्दै आएको छ । स्वीस बैंकहरुमा सबैभन्दा धेरै रकम राख्नेहरुमा युरोप, अमेरिका, वेस्ट इण्डिज, फ्रान्स र जर्मनी प्रमुख छन् ।