विद्युत् उत्पादन, प्रसारण तथा वितरणको महत्वाकांक्षी लक्ष्य राख्दै प्रसारण गुरु योजना सार्वजनिक
काठमाडौ,१८ असार । सरकारले विद्युत् उत्पादन, प्रसारण तथा वितरणको महत्वाकांक्षी लक्ष्य राख्दै प्रसारण गुरु योजना सार्वजनिक गरेको छ । गुरुयोजनाले मुलुकलाई विभिन्न पाँच क्षेत्रमा विभाजन गरी योजनाबद्ध प्रसारण प्रणाली निर्माण गर्ने र सन् २०४० सम्मको विद्युत् उत्पादन ४० हजार मेगावट पुर्याउने लक्ष्य राखेको छ । ऊर्जा उत्पादनमा लाग्न चाहने सरकारी, निजी क्षेत्रलाई समेत सो गुरुयोजनाले महत्वपूर्ण सहयोग पुयाउने विश्वास लिइएको छ । गुरुयोजनामा महाकाली नदी, पश्चिम सेती र कर्णाली करिडोर जोन–१, भेरी नदी करिडोर जोन–२, कालीगण्डकी र मस्र्याङ्दी करिडोर जोन–३, त्रिशूली–चिलिमे, खिम्ती, तामाकोसी करिडोर जोन–४ र कोसी, अरुण र काबेली कोरिडोर जोन–५ उल्लेख छ । विद्युत उत्पादनमा सात खर्ब ८२ अर्ब लगानी हुने अनुमान गुरुयोजनाले गरेको छ ।
गुरुयोजनामा उत्तरी छिमेकी देश चीन र दक्षिण छिमेकी देश भारत जोड्ने गरी क्रमशः उत्तरतर्फ दुई र दक्षिणतर्फ पाँच अन्तरदेशीय उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । आन्तरिक र अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि करीब सात खर्ब ८२ अर्ब लगानी हुने गुरुयोजनामा उल्लेख छ । सबस्टेसन निर्माणका लागि करीब रु पाँच खर्ब ३४ अर्ब ७९ करोड खर्च लाग्नेछ भने प्रसारण लाइन निर्माणका लागि करीब रु दुई खर्ब ४७ अर्ब ५८ करोड लाग्ने देखिएको छ । देशभित्रको प्रसारण प्रणालीको विस्तार गर्ने, सबै क्षेत्रमा सहज रुपमा विद्युत् प्रवाह गर्ने र अन्तर्राष्ट्रिय रुपमा समेत प्रसारण सञ्जाल जोड्ने तथा विद्युत् बिक्री तथा आयातका लागिसमेत सहज मार्ग निर्माण गर्ने लक्ष्य गुरुयोजनामा राखिएको छ ।
सरकारले पूर्व–पश्चिम राजमार्गको समानान्तर रुपमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ भने मध्यपहाडी राजमार्गको समानान्तर रुपमा पनि त्यस्तै प्रसारण प्रणाली स्थापना गरिने भएको छ । उत्तर दक्षिण नदी करिडोरमा पनि उच्च क्षमताका प्रसारण लाइन निर्माण हुनेछन् । हालसम्म १३२ केभी र २२० केभी क्षमताका मात्रै प्रसारण लाइन निर्माण भइरहेको सन्दर्भमा अब बन्ने प्रसारण प्रणाली भने ४०० केभी देखि ६६५ केभीका हुनेछन् ।
गुरुयोजनाअन्तर्गत पूर्वी क्षेत्रमा उत्पादन भएको विद्युत् पश्चिम र पश्चिममा उत्पादन भएको पूर्व प्रसारण गर्न मिल्ने गरी आधार तयार पार्ने लक्ष्य राखेको छ । यस्तै कुनै क्षेत्रमा समस्या आए अर्को क्षेत्रमा असर नपर्ने गरी डिजाइन गरिने समेत गुरुयोजनामा स्पष्ट पारिएको छ । सन २०४० सम्म अन्तरिक खपतसमेत २० हजार मेगावाट हुने लक्ष्य राखेको छ । ४० हजार मेगवाट मध्ये २० स्वदेशमै खपत हुने र बढी हुने विद्युत् छिमेकी देशतर्फ निर्यात गर्न सकिने भएकाले उच्च क्षमताका प्रसारण प्रणाली जरुरी पर्ने सरकारको बुझाइ छ ।
गुरुयोजनाअनुसार करीब आठ हजार किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ । त्यसमा २२० केभी क्षमताका दुई हजार १०० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । यस्तै ४०० केभीका पाँच हजार ८०० किलोमिटर लाइन विस्तार गरिनेछ । सो भन्दा बढी क्षमताका आवश्यक प्रणाली निर्माण गरिनेछ ।
यस्तै, सन् २०४० सम्म ४२ वटा ४०० केभी, ३८ वटा २२० केभी क्षमताका प्रसारण प्रणाली जोड्ने आधार स्टेशनसमेत निर्माण गुरुयोजनामा समावेश गरिएको छ ।