नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख होः अध्यक्ष ढकाल
काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख भएको बताएका छन् । संघको ५८औ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
निजी क्षेत्रले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको उनले बताए। अहिले आम्दानी र खर्चबीच तालमेल मिलेको छैन । मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फजाएर थप आर्जन गर्न खोजिरहेको छ तर, त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ, उनले भने अहिले विदेशी मुद्राको संचिति हालसम्मकै उच्च छ । बैंकहरूमा पनि तत्काल कर्जाका रुपमा दिन सकिने करिब ६ खर्ब रुपैया छ । उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्युन छ । वैदेशिक अनुदान निरन्तर घट्दो छ । वित्तीय व्यवस्थापन खर्च पूँजीगत खर्च भन्दा झण्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढने सम्भावना देखिएको छ ।’
त्यसैगरी अध्यक्ष ढकालले निजी क्षेत्रले रोगको पहिचानगरी बारम्बार औषधि सिफारिस गर्दा पनि राज्यले ध्यान दिन नसक्दा अर्थतन्त्र अहिलेको अवस्थामा आइपुगेको बताए ।