Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरुको सम्मानमा नेपाल हस्तकला महासंघद्वारा स्वागत तथा बधाई ज्ञापन कार्यक्रम

बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरुको सम्मानमा नेपाल हस्तकला महासंघद्वारा स्वागत तथा बधाई ज्ञापन कार्यक्रम

काठमाडाैं, २ वैशाख । नेपाल हस्तकला महासंघ बागमती प्रदेश सरकारका नव नियुक्त संस्कृति, पर्यटन तथा सहकारी मन्त्री  शैलेन्द्रमान बज्राचार्य, वन तथा वातावरण मन्त्री  केशव प्रसाद पोखरेल र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री  प्रकाश श्रेष्ठको सम्मानमा स्वागत तथा बधाई कार्यक्रम गरेकाे छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा हस्तकला क्षेत्रको दिगो विकास र प्रवद्र्धनको लागि बागमती प्रदेश सभामा दफावार छलफलको प्रकृयामा रहेको बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकाहरुमा ती पालिकाहरुको प्रकृति अनुसार हस्तकला ग्राम स्थापना तथा संचालन अध्यादेश जति सक्दो चाँडो पारित गरि दिन अनुरोध गरेका छन् ।

साथै प्रदेश स्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र संचालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता संचालन, हस्तकला विश्व विद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगको लागि अध्यक्ष प्रचण्ड शाक्यले बागमती प्रदेश सरकार समक्ष आग्रह गरे ।

उक्त अवसरमा ३ वटै विभागीय मन्त्रीहरुले हस्तकला क्षेत्रको प्रवद्र्धनको लागि आफ्नो मन्त्रालयले आ–आफ्नो कार्य क्षेत्र भित्र पर्ने कार्यहरुलाई प्राथमिकता पूर्वक कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे। नव नियुक्त मन्त्रीहरूले प्रदेश भित्रका मन्त्रालय तथा कार्यालयहरुमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा संचालन विधयक संसदबाट पारित गरी कार्यान्वयन गराउने, आगामी आर्थिक वर्षको वजेटमा सम्बन्धित संस्थाकै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु काठ, ढुङ्गा सहज रुपबाट उपलब्ध गराउने आदि प्रतिवद्धता व्यक्त गरे।

सो कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष सागर शमशेर राणाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सनम शाक्यले धन्यवाद ज्ञापन गरे भने नेपाल हस्तकला महासंघ र हस्तकला उद्योग व्यवसायको बारेमा प्रस्तुतिकरण सहित कार्यक्रम संचालन महानिर्देशक  उत्तम प्रसाद देवकोटाले गरेका थिए ।

कार्यक्रममा महासंघका सल्लाहकार पूर्व अध्यक्षहरु, कार्य समितिका पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरु, संचारकर्मीहरु र कर्मचारीहरु सहभागिता रहेको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x