Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्यात आयको १५ गुणा आयात, व्यापारघाटा १,००० अर्बबाट उकालो लाग्यो

निर्यात आयको १५ गुणा आयात, व्यापारघाटा १,००० अर्बबाट उकालो लाग्यो

काठमाडौं, २० असार । निर्यातको तुलनामा आयात उच्च हुँदा व्यापार सन्तुलनको स्थिति दयनीय बन्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल ११ खर्ब ६ अर्ब ६५ करोड रुपैँयाको वस्तु आयात भई ७४ अर्ब ३२ करोड रुपैँयाको निकासी भएको छ । कुल निर्यात आयको तुलनामा आयातमा १५ गुणा खर्च भएको छ । जसका कारण मुलुकको व्यापार घाटा १० खर्ब ३२ अर्ब ३३ करोड रुपैँया पुगेको भन्सार विभागले जनाएको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले १३ खर्ब १५ अर्ब रुपैँयाको बजेट सार्वजनिक गरेको छ भने चालु आर्थिक वर्षको व्यापार घाटा नै ११ खर्ब नाघ्ने अनुमान गरिएको छ । निर्यातको तुलनामा आयात उच्च हुँदा व्यापार सन्तुलन बिग्रिएको हो । समीक्षा अवधिमा व्यापारघाटा उच्च हुँदा यसले चालु खाता घाटा दश महिनाकै अवधिमा १०० अर्ब नाघिसकेको छ भने झण्डै २० अर्ब रुपैँया शोधनान्तर घाटा रहेको छ । उच्च आयातको तुलनामा वैदेशिक मुद्रा आर्जनका स्रोतहरु कमजोर हुँदा विदेशी विनिमय सञ्चिति समेत घट्दै गएको छ । जसका कारण विज्ञहरुले बढ्दो व्यापारघाटा धान्न नसकिने बन्दै गएको टिप्पणी गरेका छन् ।

भन्सार विभागका अनुसार, समीक्षा अवधिमा आयातमा २३ दशमलव ८२ प्र्रतिशतको वृद्धि देखिएको छ भने निर्यात १० दशमलव ५ र निर्यात २४ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा ८ खर्ब ९४ अर्ब रुपैँयाको आयात भई ६७ अर्ब २८ करोड रुपैँयाको निर्यात भएको थियो भने व्यापार घाटा ८ खर्ब २६ अर्ब ५० करोड रुपैँया थियो ।
समीक्षा अवधिमा नेपालले १७५ अर्ब ८७ करोड रुपैँयाको पेट्रोलियम आयात गरेको छ । त्यस्तै, ११५ अर्ब रुपैँयाको मेसिनरी, ११२ अर्ब रुपैँयाको फलाम तथा स्टिल, ७७ अर्ब ८२ करोड रुपैँयाको सवारी साधन तथा करिब ७० अर्ब रुपैँयाको इलेक्ट्रोनिक्स तथा दूरसञ्चार उपकरण आयात गरेको छ । त्यस्तै, साढे आठ अर्ब रुपैँयाको चिया तथा कफी, साढे सात अर्ब रुपैँयाको यार्न, ६ अर्ब ७२ करोड रुपैँयाको कार्पेट, ५ अर्ब ६७ करोड रुपैँयाको लत्ता कपडा र ४ अर्ब ६६ करोड रुपैँयाको फलाम तथा स्टिलका सामग्री निकासी गरेको भन्सार विभागले जनाएको छ ।
समीक्षा अवधिमा भारतबाट कुल आयातको ६६ प्रतिशत आयात भएको छ भने कुल निर्यातको ५७ प्रतिशत भारततर्फ निकासी भएको छ । चीनबाट आयात कुल आयातको १३ प्रतिशत छ भने कुल निकासीको ४ प्रतिशत चीनतर्फ निकासी भएको छ । भारत र चीनबाहेक, अमेरिका, थाइल्याण्ड, टर्की र भियतनाम प्रमुख व्यापार साझेदारका रुपमा देखिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x