Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारततर्फ अदुवा निकासीको अवरोध हट्यो

भारततर्फ अदुवा निकासीको अवरोध हट्यो

काठमाडौं, २० असार । नेपाली निर्यातकर्ताले भारततर्फ अदुवा निकासीमा भोग्दै आएको समस्या अब हटेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वाणिज्य विभागले परिपत्र जारी गरी नेपाली अदुवामा कुनै पनि भन्सार तथा गैरभन्सार अवरोध नरहेको जनाएको छ ।

वाणिज्य सचिव चन्द्र कुमार घिमिरेले भारतले नेपाल–भारत वाणिज्य सन्धिले नेपालमा उत्पादित वस्तुलाई भारतमा सहुलियतपूर्ण बजार सुविधा दिने प्रावधान अनुसार नेपालबाट शून्य भन्सारमा अदुवा भारततर्फ निकासी गर्न अब कुनै अवरोध नरहेको बताए । ‘यद्यपि नेपालमा उत्पादित वस्तुमात्र निकासी गर्न पाइन्छ । तेश्रो मुलुकबाट वस्तु आयात गरी भारत निकासी गर्न खोजे यो सुविधाबाट नेपाल वञ्चित हुनसक्छ र विचौलिया व्यापारीको नचाहिंदो कामको असर नेपाली किसानले दीर्घकालसम्म भोगिराख्नुपर्छ,’ उनले भने । घिमिरेले तेश्रो देशबाट ल्याएर भारत निकासी गर्ने कामलाई सरकारले निरुत्साहीत गर्ने र नेपाली किसानलाई बजार सुविधा तथा वस्तुमा थप मूल्य अभिवृद्धिका लागि काम गर्ने बताए ।

भारतमा जीएसटी लागू भएपछि भारतीय भन्सारनाकामा क्वारेन्टाइनहरुले भारतीय आयातकर्ताले वैदेशिक व्यापार महानिर्देशनालयको स्वीकृतिमा मात्र आयात गर्न दिने व्यवस्था भएको भन्दै आयात रोकेका थिए । यसबाट नेपाली किसान तथा निर्यातकर्ताले ठूलो क्षति बेहोर्नुपरेको थियो । गत वर्ष कार्तिक महिनामा नेपाल र भारतका अधिकारीहरुबीच अदुवा निकासीमा बारम्बार देखिएको समस्या समाधानको लागि छलफल भएको थियो । उक्त छलफलमा पनि नेपालले नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानलाई उल्लेख गर्दै नेपाली उत्पादनले बिना रोकतोक भारतीय बजारमा प्रवेश पाउनुपर्ने तर्क गरेको थियो । यससँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय समकक्षीलाई बारम्बार दोहोरिरहेको समस्याका सम्बन्धमा अवगत गराउँदै यसको दीगो समाधानको लागि आग्रह गरेको थियो । यसको फलस्वरुप भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले अदुवा आयातमा रहको अघोषित प्रतिबन्ध हटाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x