Date

आइत, बैशाख ३०, २०८१
Sun, May 12, 2024

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कसले के के भने ?

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कसले के के भने ?

काठमाडाैं, १६ वैशाख । आइतबारदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरू भएको छ । मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आयोजना गरिएको उक्त सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रमा प्रधानमन्त्री दाहालले सरकारले हालै व्यवसाय र लगानीसम्बन्धी परिमार्जन गरेका विभिन्न आठ कानुनले लगानीकर्ताको आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेका छन् ।

यस्तै उनले नेपालले विदेशी लगानीकर्ताहरूलाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायतका प्रोत्साहनहरू प्रदान गरेको बताए ।

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् । उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेको भन्दै उनले वैदेशीक लगानी भित्र्याउनु पर्नेमा जोड दिए । उनले नेपालको प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।

यसैगरी सम्मेलनको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरू संशोधन गरेको भन्दै उनले विश्वका विभिन्न मुलुकबाट सम्मेलनमा सहभागी लगानीकर्तालाई पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानी गर्न आग्रह गरे।

कर्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष कमलेश अग्रवालले नेपालको सूचना प्रविधी क्षेत्रमा राम्रो सम्भावना रहेको भन्दै यस क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे ।

यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले विदेशी लगानीलाई सहज रुपमा भित्राउने र नाफा कमाएर बाहिरीने सहज सुविधा हुनु पर्ने बताए । नेपालको प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न नीजि क्षेत्र सरकारको साथमा रहेको भन्दै उनले आवश्यक नीतिगत सुधार हुनुपर्नेमा जोड दिए ।

सम्मेलनमा सहभागि अमेरिका भारत लगायतका विदेशी लगानीकर्ताहरुले नेपालले उर्जा, प्रविधि, जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा राम्रो उपलब्धी हाँसिल गरेको भन्दै नेपालमा थप लगानी र सहकार्यका लागि तयार रहेको बताए ।

सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ता सहभागी छन् भने लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन्। सम्मेलनस्थलमा लगानीका लागि प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् । सम्मेलन सोमबारसम्म चल्ने छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x