अर्थतन्त्रको उत्पादनशील क्षमता विकासका लागि भौतिक पूर्वाधार विकास
केशवकुमार शर्मा
सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
विकासका लागि भौतिक पूर्वाधार किन चाहिन्छ भन्ने सवाल शीर्षकले नै व्याख्या गरिसकेको छ । कुनै पनि क्षेत्रको विकास गर्नुअघि आधारभूत पूर्वाधारको विकास गर्नुपर्छ । भौतिक पूर्वाधारमा ‘कनेक्टिभिटी’ माध्यमलाई पहिलो मानिन्छ । किनकि जुनसुकै जलविद्युत् आयोजना बनाए पनि अथवा सिँचाइ आयोजना बनाए पनि पहँुचको कुरा हुन्छ । त्यसैले पूर्वाधारमध्ये पनि सडक पूर्वाधारलाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ ।
एउटा रेलवे बनाउनुप¥यो भने त्यहाँ सहायक सडक चाहिन्छ । एयरपोर्ट बनाउनुप¥यो भने पनि त्यहाँसम्म पहुँच सडक चाहिन्छ । सडक नै भएन भने मानिस कसरी जान्छन् र ? पहुँचका लागि सडक अत्यावश्यक भएकाले सडकलाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । हुन त पूर्वाधारमा सडक, रेलवे स्टेसन, जल यातायात, हवाई यातायात सबै पर्छन् । तिनीहरूको सन्तुलित अनुपातमा विकास गर्नुपर्छ । कति रेलवे, कति हवाई मार्ग, कति जलमार्ग, कति सडकमार्ग चाहिने भन्ने कुरा देशको आवश्यकता, भूगोल र त्यसमा प्रयोग हुने ट्राफिकको प्रकारले निर्धारण गर्छ ।
भौतिक पूर्वाधारले दुईवटा तरिकाले देशको अर्थतन्त्रमा टेवा पु¥याइरहेको हुन्छ । भैतिक पूर्वाधार निर्माण गर्दा नै त्यसले आर्थिक गतिविधि चलायमान बनाउँछ । जस्तै– एउटा सडक बनाउनु छ भने पहिलो त धेरै जनशक्तिले रोजगारी पाउँछन् । इन्जिनियरदेखि सामान्य ज्यामीले रोजगारीका अवसर पाउँछन् । अर्थतन्त्रलाई यसले ठूलो टेवा पुग्छ । सडक निर्माण गर्न सिमेन्ट, अलकत्राजस्ता धेरै कुराको आवश्यकता पर्दछ । सडक निर्माणले यस्ता सामान उत्पादन गर्ने उद्योग फस्टाउन पाउँछन् । पूर्वाधारले अरू क्षेत्र पनि चलायमान गराउन सहयोग गर्दछ । यसले एकातिर रोजगारी सिर्जना गर्छ भने अर्कोतिर निर्माण र सञ्चालनको समयमा आपूर्ति शृंखलालाई जोड दिने गर्छ । यस्ता हरेक पूर्वाधार निर्माण गर्दा देशको अर्थतन्त्रलाई चलायमान नै बनाउँछ ।
कृषिको कुरा गर्ने हो भने पनि आवश्यक सामान आपूर्तिका लागि यातायातको पूर्वाधार चाहिन्छ । कृषि उपजलाई बजारसम्म लैजानका लागि पनि यातायातकोे पूर्वाधार आवश्यक हुन्छ । त्यसैले कुनै पनि क्षेत्रले आफैँले रोजगारी सिर्जना गर्छ भने अरू पूरै क्षेत्रलाई सहज बनाइदिन यातायात पूर्वाधारले ठूलो भूमिका खेलेको हुन्छ ।
यातायात पूर्वाधारका विभिन्न माध्यम हुन्छन् । एउटा एकीकृत योजना बनाएर कुन क्षेत्रका यातायातलाई कति प्राथमिकता दिने भनेर विशेषज्ञले निर्धारण गर्नुपर्छ । यातायातका विभिन्न माध्यमको सन्तुलित मिश्रणले देशको विकास हुन्छ । विकसित देशहरूको भौतिक यातायातको उपलब्धता कस्तो छ भनेर हेर्न सकिन्छ ।
भौतिक पूर्वाधारले उत्पादनशीलतामा देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र विभिन्न अवसरको सिर्जना गर्न टेवा पु¥याएको छ । भौतिक पूर्वाधारविना केही विकास नै गर्न सक्दैनौँ । भौतिक पूर्वाधार भएन भने उद्योगधन्दा नै खोल्न सकिँदैन । त्यस्तै, भौतिक पूर्वाधारको विकास नभएका ठाउँमा कृषि उपज भए पनि त्यहाँका उपज बिक्री नहुने अथवा उचित बीउबिजन नपाउनेजस्ता समस्या देखापर्छन् ।
त्यसैले देशका आर्थिक गतिविधिमा टेवा पु¥याउन कुनै पनि क्षेत्रका लागि भौतिक पूर्वाधार जरुरी हुन्छ । यसले आफैँले रोजगारी सिर्जना गरेर उत्पादनशीलता बढाइरहेको हुन्छ भने आपूर्ति शृंखलाजस्ता धेरै कुरामा सहयोग गरेर देशको आर्थिक विकासमा टेवा पु¥याइरहेको हुन्छ ।
त्यति मात्र नभएर सरकारले नागरिकलाई उपलब्ध गराउने सेवा लिन जाने ठाउँसम्म यातायात चाहिन्छ । त्यसपछि मानिसले समयमै सेवा लिन सक्छन् । नागरिकले गर्ने हरेक काम सहज बनाउन यातायात पूर्वाधारले ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले यातायात पूर्वाधारलाई विकासको पूर्वसर्त मानिन्छ ।
त्यस्तै, अहिले सञ्चारलाई पनि एकदम महत्वपूर्ण पूर्वाधार मानिन्छ । किनकि अहिले धेरै काम अनलाइनबाट गर्ने गरिन्छ । त्यसैले भौतिक पूर्वाधारलाई मात्र स्थान नदिई सूचना प्रविधिको पूर्वाधार (डिजिटल कनेक्टिभिटी) लाई पनि अघि बढाउनुपर्छ । सूचना प्रविधिको पूर्वाधारले अनावश्यक आवागमनबाट बचाउँछ । मानिसले घरबाटै सेवा लिन पाए भने धेरै सडक नभए पनि हुन्छ, सवारीसाधन कम भए पनि हुन्छ । सार्वजनिक यातायातमा भिड कम हुन्छ । आफ्नो समयको बचत गरेर समयलाई उत्पादन क्षेत्रमा लगाउन सक्छ । त्यसैले अहिलेको समयमा सूचना प्रविधि पनि पूर्वाधारभित्र पर्दछ । सुरक्षित एवं समय बचत हुने खालको भौतिक पूर्वाधार र प्रभावकारी सूचना प्रविधिलाई मिलाएर लैजान सकियो भने सहज रूपमा विकास गर्न सकिन्छ । आजको आवश्यकता भनेको भौतिक पूर्वाधारमा प्राथमिकताका साथ लगानी गर्नु हो ।
कस्तो पूर्वाधारमा लगानी गर्ने ?
पूर्वाधारको मात्र कुरा गर्दा हामीले अरू क्षेत्र बिर्सिने गरेका छौँ । नागरिकका लागि शिक्षा र स्वास्थ्यमा पनि सरकारले लगानी गर्नुपर्छ । अहिले सीमित स्रोतसाधन भएकाले छिटो र तुलनात्मक रूपमा बढी प्रतिफल दिने पूर्वाधार आयोजनामा लगानी गर्नुपर्छ ।
भौतिक पूर्वाधारका साथै एकीकृत विकासको अवधारणा पनि लागू गर्नुपर्छ । कुनै ठाउँमा बाटो मात्र पु¥याइदियो, त्यसपछि त्यो ठाउँमा पशुपालन सम्भाव्य छ कि, शिक्षाको हब बनाउन सकिन्छ कि, स्वास्थ्य हब बनाउने सम्भावना छ कि अथवा कुनै उद्योग स्थापना गर्न सम्भाव्य छ कि, यस्ता सुविधालाई पनि पूर्वाधारसँगै लैजान सकियो भने यसलाई नै एकीकृत विकासको अवधारणा भनिन्छ । यति गर्न सकियो भने अझै छिटो आर्थिक विकासलाई बढाउन सकिन्छ ।
भौतिक पूर्वाधारले गति लिन नसकेको होइन । केही समय अगाडि हामीले सोचेका धेरै कुरा सहज भएका छन् । तीन–चार दिन लगाएर हिँड्ने ठाउँमा अहिले दुई–तीन घण्टामै पुग्न सकिन्छ । यसरी तुलना गर्ने हो भने १०–१५ वर्षअगाडिको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन पाउन सकिन्छ । सूचना प्रविधिमा पनि धेरै विकास भएको छ । साथै, बैंकहरूमा पनि विकास भएको छ । पहिला चेक साट्नेलगायत कामका लागि धेरै लाइन बस्नुपथ्र्यो । अहिले सबै काम कार्डबाट वा फोनबाटै हुने गरेका छन् । यातायातकै सन्दर्भमा चर्चा गर्ने हो भने गाउँ–गाउँमा सडक पुगेका छन् । केही समय कोरोनाकालमा बजेटको स्रोत खुम्चिएकाले लगानी कम हुँदा भौतिक पूर्वाधार क्षेत्र अलि सुस्तजस्तो देखिएको छ । तर १०–१५ वर्षअघिको तुलनामा नसोचेका धेरै काम भएका छन् । ८–१० वर्षअघि मध्यपहाडी क्षेत्रका बस्ती विकट मानिन्थे । तर, अहिले मध्यपहाडी राजमार्गका कारण ती सबै एकअर्कामा जोडिएका छन् । त्यसैले भौतिक पूर्वाधारमा सन्तोषजनक विकास भएको छ ।
भौतिक पूर्वाधार विकासका चुनौती
भौतिक पूर्वाधारमा पनि विशेषगरी सडक पूर्वाधार अत्यधिक जनता र जनप्रतिनिधिको माग हो । कुनै पनि ठाउँमा सडक चाहियो भन्ने अवस्था छ । तर, त्यसअनुसारको स्रोत अथवा बजेट हामीसँग छैन । बजेट मात्र भएर पुग्दैन, यससँगै निर्माण सामग्री, निर्माणकर्ता, कच्चा पदार्थको आपूर्ति पनि प्रभावकारी हुन जरुरी छ । त्यसैले अहिले सबै माग पूरा गर्न सकिँदैन । त्यो कुराको प्राथमिकतामा कतै अलमलिएको जस्तो देखियो । सबैभन्दा छिटो र सबैभन्दा धेरै प्रतिफल दिने योजनालाई प्राथमिकीकरण गरेर काम गर्नुपर्ने थियो । केही आयोजनामा हामीले त्यसो गरेका पनि छौँ । तर, सबै गरिदिए हुन्थ्यो भन्ने जनता र जनप्रतिनिधिको माग छ । सबैतिर एकैपटक काम गरिएकाले जनशक्ति पनि धेरैतिर बाँडिएका छन् । निर्माण सामग्रीमा समस्या पनि छ । वातावरणीय अध्ययनको समस्या छ । जहाँ सडक पुग्यो, त्यहीँ बस्ती आउने हुँदा सडक फराकिलो बनाउनुपर्दा बनेका घर हटाउनुपर्ने बाध्यता छ । यसका लागि सडकभन्दा केही पर बस्ती बस्दा राम्रो हुन्छ । यस्ता कारणले काम गर्न केही ढिलाइ भएको छ ।