दोब्बर बढ्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै लगानी पर्यटन क्षेत्रमा
काठमाडाैं, ५ साउन । गत आर्थिक वर्ष २०८०÷८१ मा ४०७ परियोजनामार्फत ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
अघिल्लो आर्थिक वर्ष ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको थियो । एक वर्ष अवधिमा २३ अर्ब ५० करोड रुपैयाँ बढी वैदेशिक लगानी भित्रिएको हो ।
उद्याेग विभागका अनुसार यो वर्ष असार महिनामा सबैभन्दा धेरै १७ अर्ब ४८ करोड ४७ लाख बराबर वैदेशिक लगानी भित्रिएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १९७ परियोजनामार्फत विदेशी लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवा क्षेत्रमा १३३ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रमा ४६, सूचना प्रविधिमा ११, कृषिमा आठ, पूर्वाधारमा छ, ऊर्जा र खानीजन्य परियोजना तीन(तीन वटामा लगानी प्रतिबद्धता आएको छ । साना उद्योग ३८६, मझौला १५ र ठुुला छ वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।
स्वचालित मार्गबाट १३९ परियोजनामार्फत आठ अर्ब ११ करोड ६२ लाख वैदेशिक लगानी भित्रिएको छ ।