साउनमा घरजग्गा कारोबार र त्यसबाट प्राप्त राजस्वमा सुधार
काठमाडाैं, ६ भदाै । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा घरजग्गा कारोबारमा सुधार देखिएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ । गत साउनमा ३९ हजार २ सय ६३ लिखत पारित भएको थियाे। जसअनुसार साउनमा घरजग्गाको कारोबार १२ प्रतिशतले बढेको हाे ।
सरकारले कित्ताकाटमा गरेको कडाइ, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव तथा उच्च ब्याजदर र आर्थिक शिथिलतालगायतका कारण पछिल्लो दुई वर्षयता नेपालमा घरजग्गा कारोबार सुस्ताएको थियो ।
यता घरजग्गा लिखत पारितसँगै मालपोत कर पनि बढेको छ । चालु आव साउनमा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । जुन गत आव सोही अवधिको तुलनामा ३१.७७ प्रतिशतले धेरै हो ।
साउन २०८० मा घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख बराबर राजस्व प्राप्त भएको थियो ।