Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

साउन नजिकिएसँगै हरियो चुरा, पोते र मेहन्दीको व्यापार बढ्यो

साउन नजिकिएसँगै हरियो चुरा, पोते र मेहन्दीको व्यापार बढ्यो

मानमती पाण्डेय
काठमाडौं, २७ असार । साउन महिला हिन्दु नारीहरुका लागि बिशेष महिना हो । यो महिनामा अधिकांश नारीहरु हात भरि हरिया चुरा, हत्केलामा मेहेन्दी र गलामा हरियो पोते लगाएर हिड्ने गर्छन । आफ्नो पतिको दीर्घायुको कामना सहित साउनको सोमबार नारीहरु शिवजीलाई प्रशन्न बनाउन पानी समेत नखाई व्रत बस्ने गर्दछन ।

प्रेम, वर्षा र झरीको संगम साउन महिना धार्मिक हिसाबले पनि हिन्दु नारीहरुको लागि अर्को महत्वको महिना हो । साउन महिना सुरु भएसँगै अधिकांश महिलाहरुले माछामासु, लसुन, प्याज नखाई व्रत बस्ने गर्छन । यसअर्थमा साउनलाई विशेष महत्वको महिनको रुपमा लिन्छन उनीहरु । त्यस्तै साउन शुरु हुनु अगावै कस्मेटिक पसल, चुरा पसलहरुमा मेहेन्दी, हरियो तथा पहेलो चुरा लगाउनेको भिड लाग्न थालीसकेको छ ।

हरियो वस्त्र, हरियो चुरा, हरियो पोते, हत्केलामा मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु संस्कार, संस्कृतिप्रतिको विश्वास अझ गाढा बन्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । हरिया चुरा लगाउनुका धार्मिक एवं संस्कृतिका महत्व थाहा नभएपनि साउन महिना भरि हरिया चुरा र मेहेँन्दी लगाउनेहरु धेरै नै भेटिन्छन । यो महिला ब्रत बस्नाले विवाहित नारीले आफ्नो श्रीमानको दीर्घायुको कामना र अविबाहित नारीले असल श्रीमान प्राप्त गर्ने धार्मिक विश्वास छ ।

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरु प्राय त्यही चिजमा झुमिन्छन । त्यसैलाई मध्यनजर गर्दै साउन महिना शुरु हुनु अगाडी नै राजधानीका चुरा पसलहरु हरिया चुरा र पोतेले भरी भराउ छन् । डिल्लीबजारमा कस्मेटिक पसल खोेलेर बसेकी प्रमीला केसीलाई अहिले बिहान देखि बेलुकी सम्मै फुर्सद छैन । उनी भन्छिन–‘साउन महिना त चुरा व्यापारीलाई तिहार जत्तिकै हुन्छ, महिलाहरुको भिड नै लाग्छ । आज सामान ल्यायो भोली सकिन्छ । दिनमा ३० दर्जनभन्दा बढी चुरा बिक्री भइरहेको छ । ’

उनको पसलमा १० रुपैयाँ देखी ५ हजार सम्मका चुरा छन । उनले भनिन ‘मेटलका चुराहरु दर्जनको हिसावले भन्दा पनि सेटमा आउँछन । यस्ता सेट चुराहरु ८० रुपैयाँदेखि सुरु हुन्छ । ’ सामान्य रुपमा बजारमा काँचका ४० रुपैयाँ प्रतिदर्जन र मेटलका चुरा १ सयदेखि ५ सय सम्मका चुराहरुको माग बढेको उनले बताइन ।

त्यस्तै पुरानो बानेश्वरमा पार्लर संचालन गरेर बसेकी मनु बस्नेत अरु बेला चुरा नबेच्ने गरेको भएपनि साउनमा भने पार्लरमा पनि कस्मेटिक सामान र चुरा विक्रीका लागि राख्ने गरेको बताउछिन् । सामान्य अवस्थामा चुराको व्यापारमा घाटा हुन्छ । यो समयमा धेरै बिक्री हुनाले केही नाफा हुन्छ । त्यसकारण साउन राख्ने गरेको उनले बताइन । उनको पार्लरमा पनि अहिले दिनमा १५ देखि २० दर्जन चुराको व्यापार भइरहेको छ । खुद्रा व्यापारमा हरियो चुराको माग बढेपछि होलसेल व्यापारीलाई पनि भ्याइ नभ्याइ भएको छ । असनमा कस्मेटिक र चुराको होलसेलका संचालक रामु साह भन्छन ‘अहिले त चुराको बाढी नै आए जस्तो हुन्छ । खाना खाने फुर्सद समेत हुँदैन । ’

साउनमा हरियो चुराका साथमा रातो र पहेँलो चुरा मात्र भएर पोते, मेहेन्दीहरुको पनि प्रशस्त माग भएको व्यापारीहरु बताउँछन । रातो, पहेँलो, हरियो रंग मिसिएका पोतेहरु र अन्य कस्मेटिकका सामान विशेषगरी किन्न आउने व्यापारीहरुको भनाई छ । यो महिना चुरा पसलहरुमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा समेत बेच्न राखिएको पाइन्छ । त्यस्तै न्यूरोड, असनका सडक किनारा देखि पार्लर सम्म चुरा र मेहेन्दी लाउनेको घुँइचो देख्न सकिन्छ ।

काठमाडौँमा चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाट ल्याउने गरेको व्यापारीहरु बताउँछन । भारतबाट तराइ हुँदै चुरा काठमाडौँ ल्याउने गरिएको छ । सामान्य अवस्थामा चुराको माग ठिकै भएपनि साउन, तीज र दशैंका बेला अत्याधिक हुने गरेको छ । बजारमा काँचका, प्लाष्टिकका, धातुका चुराहरु पाइन्छन । पहिले पहिले काँचका चुराहरुको प्रचलन बढी थियो भने अहिले आएर प्लाष्टिक र मेटलका चुराहरुको माग बढेको व्यापारीहरुको अनुभव छ ।

बजारमा अहिले सामान्य काँचको चुराको, यसको बुट्टा र काँचको गुणस्तरको आधारमा प्रतिदर्जन ४० रुपैयाँ देखि २ सय रुपैयाँसम्म पर्ने गरेको छ । त्यस्तै प्लाष्टिक र मेटलका चुराहरु भने तुलनात्मक रुपमा महंगो हुने व्यापारीहरु बताउँछन । प्लाष्टिकका चुराहरु ५० रुपैयाँ प्रतिदर्जनदेखि ३ सय रुपैयाँ प्रतिदर्जनसम्म पर्छ । टिकाउ र नफुट्ने भएकाले मेटलका चुराहरुको मुल्य अरु भन्दा बढि रहेको साहले जानकारी दिए ।

गत वर्षको तुलनामा यो वर्ष चुराको मूल्यमा दोब्बर वृद्धि भएको छ । गत वर्ष ३० रुपैयाँ प्रतिदर्जन पर्ने काँचको चुरा यो वर्ष ५०÷६० रुपैयाँमा बेचेको व्यापारीहरु बताउँछन । तर काँचको तुलनामा मेटलका चुराहरुको मूल्य भने प्रतिसेटमा २० देखि ८० रुपैयाँसम्म बढेको पाइएको छ ।पछिल्लो समयमा हरियो चुरा, मेहन्दी फेसन बनेको छ । जसले बालिका, युवती, वयस्क सबै उमेर समुहका महिलामा हाबी छ । विवाहित हुन या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गरेको बताउछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x